Shittalpati
‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’

पाल्पा, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण गर्दै यस्तो बताएका हुन् ।

उनले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउने दिशामा नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । सचिव थापाले स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पनि नागरिक समाजका व्यक्तिहरुलाई आग्रह गरे । उनले निर्वाचन निष्पक्ष र मर्यादित बनाउन सरकार एक्लैले सम्भव नरहेकाले नागरिक समाज जस्ता संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । सचिव थापाले भने,‘मत बदरको संख्या घटाउन, नीति बनाउन, अरुको मतको सम्मान गर्न, मतदाता शिक्षा प्रदान गर्ने जस्ता काममा नागरिक समाजको भूमिका रहन्छ ।’ निर्वाचन आयोगले अहिले मतदाता शिक्षा प्रदान नगरेको अवस्थामा नागरिक समाजको भूमिका झन् बढी हुने उनले बताए । उनले मतदातालाई भयरहित हिसाबले मतदान गर्न पाउने अवस्था सिर्जना गर्ने वातावरण बनाउन नागरिक समाजका अगुवालाई आग्रह गरे । कार्यक्रममा सचिव थापाले स्वतन्त्र र विष्पक्षनिर्वाचनका पूर्व सर्त, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रिया, मतदान सम्बन्धी व्यवसापकीय प्रक्रिया, मतदान केन्द्रको निर्माण गर्दा गर्नुपर्ने व्यवस्था, मतदान केन्द्रको क्षेत्र तोक्ने लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नागरिक समाजका व्यक्तिहरुले स्थानीय तह निर्वाचनका लागि बनाइएका आंचरसंहिता पालना भए नभएको प्रभावकारी अनुगमन नभएको,अव्यवस्थित मतदानस्थलको निर्माणमा पुर्नविचार गर्नुपर्ने, मतदाता शिक्षा प्रदान गर्नुपर्ने जस्ता विषय उठान गरेका थिए । केन्द्रका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, उपाध्यक्ष कृष्ण गहतराजको स्वागत, कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update