Shittalpati
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

पाल्पा, आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । पाल्पासहित देशभर विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउन लागिएको हो । नेपालसहित विश्वका श्रमिकले मे १ लाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाउने गरिन्छ ।

नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) लगायतका मजदुर संगठनहरुले आज विविध कार्यक्रम गर्दैछन् । श्रमिक अधिकारको व्यवस्था संविधानमासमेत समावेश छ । उक्त व्यवस्था कार्यान्वयन गर्न दवाव दिन मे दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो । उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update