Shittalpati
मातातीर्थ औंसी : ममतामयी आमालाई मान्ने दिन

‘आमाको माया पो माया, अरुको माया त दुई दिनको घाम छायाँ’ फेसबुकमा मन भित्रको शब्दहरुबाट लिइएको । प्रत्येक वर्ष बैशाख कृष्णपक्षको अमावस्याको तिथिलाई मातातीर्थ औसीको रुपमा मनाइन्छ । यो दिन भनेको आज आफुलाई जन्मदिने आमाको मुख हेर्ने र आमालाई विविध रुपले सम्मान गर्ने मातृ सम्मान दिवसको रुपमा मान्ने हो । शास्त्रहरुमा आमालाई पिता भन्दा उच्च स्थानमा राखिएको पाइन्छ । आमाप्रति भक्ति भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन तथा मातृ औंसी, मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन पनि हो । हुन त जीवीत आमा हुनेहरुले हरेक दिन आफ्नी आमालाई देखिरहने भएता पनि वर्षको एक दिन अर्थात् आजको दिन विशेषरुपमा लिने गरिएको छ । संसारको सबैभन्दा पवित्र नाता तथा सम्बोधन आमा नै हो र हामी मध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शव्द आमा नै हो तथा पलपल संझना आउने हरेक सुख दुखमा सम्झना आउने एउटा अनुहार हो आफ्नी ममतममयी आमा नै हो । यसकारण आजको दिन आमालाई श्रद्धा भक्ति सम्मान र आदर गरी आमालाई मन पर्ने मिष्ठान्न, मिठो खाना तथा राम्रा राम्रा लुगाफाटो लगायत उपहारहरु दिई छोराछोरीहरुले आमाप्रति कृतज्ञता अर्पण गरी आमाबाट शुभ आशिर्वाद ग्रहण गर्र्ने प्रचलन छ । बाँचुञ्जेल माताको सेवा गर्नु पाउनु छोरा बुहारीहरुका लागि ठूलो सौभाग्यको कुरा हो ।
भनिन्छ पूर्वजन्मको सचित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ । छोराछोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्ग समान हुन्छ । स्वर्गमा त अन्य सुख पाइएला तर ममतामयी आमाको माया पाइँदैन तर धर्तिमा आमाको सानिध्य नै पारिवारिक स्वर्ग हुन्छ । विहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आमासँग छुटिएर बसेका छोराछोरीहरु पनि बिहान सबेरै उठी नुहाइ धुवाइ गरी आमालाई भेट्न पुग्दछन् । परिवारका सबै एकै ठाउँमा जम्मा हुन्छन, आमालाई पूजा गर्दछन्, दीर्घायुको कामना गर्दछन् तथा मीठा–मीठा स्वादिष्ट परिकारहरु तथा उपहारहरु दिई आमाबाट आशिर्वाद थाप्दछन् । आमाले पनि आफना छोराछोरीलाई सुस्वास्थ्य, सुख शान्तिको आशिर्वाद दिन्छिन् । नेवारी समाजमा विवाहित छोरीहरुले अण्डा, फलफूल, रक्सी, दही, तथा अन्य उपहारहरु सगुनको रुपमा लिएर माइत आउँछन् । आमाको पूजा गरी दीर्घायूको कामना गर्दछन् । सन्तान समर्थ होस् वा असमर्थ होस्, बलवान होस् वा निर्बल, लुलो लंगडा जे जस्तो भए पनि आमाको आफ्ना सन्तान प्रति त्यतिकै माया हुन्छ । त्यसैले आजको दिन उनको असीमित माया पे्रम, उनको हेरचाह जुन बच्चाले प्राप्त गरेको हुन्छ त्यस्को लागि आफ्नी आमाप्रति आभारी हुन्छन् तथा उनको आदर गर्छन् । आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मिठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलिबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात् माइत पुग्दछन् । हाम्रो समाजमा महिलाहरुका लागि माइतमा अर्थात् आमाबुबाको घर जानु भनेको आमा बुबाको मायाको वरदान प्राप्त गर्नु सरह हुन्छ । जो सधंै आनन्दित हुन्छ । यो दिन त आमा र बच्चाको वीचको माया र बन्धनको कदर गर्न मनाइने दिनहरु मध्ये एक हो । सनातन धर्मले मातापिता लगायत मान्यजनको दैनिक दर्शन पुजन सेवा गर्ने विधि अनादि काल देखिनै सिकाएको छ । तर सबै सन्ततिलाई दैनिकरुपमा मातापिताको सेवा सुश्रुसा गर्नु सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको लागि वार्षिक उत्सवको रुपमा माता तीर्थ औसीलाई लिईएको हो भनिन्छ । मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो । हिन्दू परम्परा अनुसार छोराछोरीको पालन पोषणका लागि आमाले ठूलो जिम्मेवारी लिई हुर्काउने बढाउनेदेखि आफनो सन्तान सक्षम नभएसम्म आमाले गर्ने त्याग तपस्या वास्तवमा अतुलनिय छ । त्यसैले पनि आजको दिनलाई छोराछोरीले आफ्नी आमाको सम्मानपूर्वक पूजा गर्नु अपरिहार्य भएको मान्नुपर्दछ । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने सञ्चारका साधनहरुमार्फत पनि सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुको माध्यमबाट पनि आमा प्रतिका भावना र सम्झनाहरु व्यक्त गर्दछन् ।काठमाडौं उपत्यका तथा वरपरका मानिसहरु आजको दिन आमा जिवीत नहुनेहरुले काठमाडौंको नजिकै दक्षिण पश्चिममा थानकोट नजिकै अवस्थित माता तीर्थको कुण्डमा गई स्नान गरी दिवंगत आमाको नाममा विभिन्न पुण्य कार्य गर्दछन् । उक्त ठाउँमा दुईटा पोखरी छन् जसमध्ये एउटा पोखरीमा नुहाउने गर्दछन् भने अर्काे पोखरीमा आमाको मुख हेर्ने गर्दछन् । यस दिन यहाँ भक्तजनहरुको धूमधामका साथ मेला नै लाग्ने गर्दछ । आमाको मोक्ष गतिको लागि श्रद्धाका साथ आमाको नाममा श्राद्ध तर्पण तथा पिण्डदान गर्दछन् ।
आफ्नी दिवंगत आमालाई सम्झेर तर्पण गर्ने श्राद्ध गर्ने तथा अर्को सानो कुण्डमा आफ्नी आमाको अनुहार नियाल्ने परम्परा रहेको बताइन्छ । आफ्नी आमा देखिन्छन् वा देखिदैनन् त्यो त विश्वास मात्र हो । उक्त स्थानमा गएर गरिने पुण्य कर्मले आमाले ९ महिना सम्म गर्भमा राखेर जन्माई हुर्काएको बढाएको मातृ ऋणबाट मुक्तिका साथै आमाको समेत मोक्ष गति प्राप्त गर्ने र आमाको आशिर्वादले सन्तानको जीवन सुखमय रहने जनविश्वास छ । मातातीर्थ बारे विभिन्न किंवदन्तिहरु छन् । लाग्छ सबैले आ–आफ्नो तरिकाबाट यस ठाउँको किंवदन्तिको रुपमा व्याख्या गरेका छन् । त्यसमध्ये एउटा किंवदन्ति एउटा गोठालो केटाले प्रत्येक दिन गोठाला जाँदा आफुले लगेको रोटीको एक टुक्रा नजिकैको पोखरीमा फाल्ने गर्ने रहेछ  । तर त्यो रोटी एकछिन पछि गायब हुने रहेछ । त्यो बालकले कस्ले लैजान्छ भनेर पोखरीको पानीमा हेर्दा आफ्नो दिवंगत आमालाई देखेछ । आमालाई देखेपछि त्यो गोठालो बालकले आफ्नी आमालाई आफुसंगै घर लैजान्छु भनेर जिद्वी गरे छन् तर आमाले वर्षको एक पटक म अवश्य पनि तिमीलाई भेट्न आउँछु भनेर सम्झाएर पठाइछन् । वर्षको एक दिन भनेको यही मातृ औसीको दिन परेछ । त्यसैले आजसम्म सबैले यसै दिनलाई मानी यो परम्परा चलाएको भनिन्छ । उपत्यका बाहिर आमा नभएकाहरु नजिकैका पवित्र नदिहरुमा पुग्दछन् । आफ्नी आमाको नाममा श्रद्धा भक्तिका साथ पूजा गर्ने, तर्पण दिने, ब्राÞमाणहरुलाई सिदा दान गर्ने आदि गर्दछन् । आज भोलि विभिन्न कारणले आमा बुबाहरुलाई वास्ता नगर्ने अनि बृद्धाश्रम लगायतका ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ । वास्तवमा यो अत्यन्तै निन्दनिय कार्य हो । सबैले यो कुरा बुझन जरुरी छ समय सँधै एकनास रहँदैन । यो त बगेको खोला हो । आफुले आफना बृद्ध आमाबुबालाई आज गरेको कार्य भोलि आफैलाई फर्कन सक्छ  । किनकी भनिएको छ इतिहास जहिले पनि दोहरिन्छ । आफ्नो दायित्वबाट विमुख हुनु पक्कै मानव चरित्र हैन । यो दिवस विश्वका धेरै देशहरुमा अलग अलग दिनमा आ–आफ्नै परम्परा अनुसार मनाउने गरिन्छ ।
यो दिन कुनै निश्चित धर्म वा कुनै समुदायसँग गाँसिएको छैन । यो त सबै समुदायमा मनाइन्छ । यो दिन नेपालमा चाड भन्दा पनि पारम्परिक संस्कारको शुभदिनको रुपमा मनाइन्छ । यस पर्वलाई कसैले बिहान मनाउँछन् भने कसैले साँझ मात्र मनाउँछन् । यस प्रकारको पर्व ठाउँ तथा हावापानी अनुसार गरिए तापनि यसको मुख्य उद्देश्य आमाप्रति कृतज्ञता, माया तथा आदर गर्नु रहेको छ । हामी नेपालीहरु खासमा आमाको छत्रछायामा बाँचिरहेका छौं । जब जब हामीहरु माथि कुनै संकट आउँछ हामी आफनी आमालाई सम्झन्छौं, पुकार्छौं , हाम्रो मुखबाट स्वतः निस्कन्छ मा, आमा । प्राचीनकाल देखि नै हामी एकातिर आफूलाई जन्म दिने आमाप्रति श्रद्धापूर्वक प्रेम र भक्तिको भावना पोख्दै आइरहेका छौं तर अर्कोतिर आफनो मातृभूमिलाई पनि आमा मान्दै आइरहेका छौं । त्यसैले त जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने एउटा पवित्र भावनाले देश प्रति समर्पित भएका अनेक उदाहरणहरु हामी समक्ष छर्लगं छ । अस्तु ¤
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update