Shittalpati
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित

पाल्पा, वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।

नियमिततर्फ छात्रा ४८ जना, छात्र ५६ र ग्रेडवृद्धितर्फ छात्रा १५ , छात्र २० जना परीक्षार्थी विज्ञान विषयमा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

यहाँ विज्ञान विषयको परीक्षा ४ हजार ६ सय ९१ जना परीक्षार्थी मात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । एक सय ३९ जना अनुपस्थित भएका छन् । परीक्षामा ४ हजार ६ सय ७८ जना नियमित र १३ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी उपस्थित भएका हुन् । जिल्लामा एक सय ३६ विद्यालयका परीक्षार्थीहरुले परीक्षा दिइरहेका छन् । अहिलेसम्म परीक्षा शान्त र मर्यादित रुपमा सञ्चालन भएको जनाइएको छ । परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसइई परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन भइरहेको छ । यहाँ २६ वटा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update