Shittalpati
पाल्पामा १७ जनाले बुझाए हतियार

पाल्पा, जिल्लामा १७ जनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशन अनुसार १७ जनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात पुनःफिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो ।

जिल्लामा ५५ वटा इजाजत प्राप्त हतियार भएपनि १७ जनाले मात्रै बुझाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । उनका अनुसार व्यक्तिगत ३३ वटा र बैंकहरुको २२ वटा गरी ५५ वटा इजाजतप्राप्त हतियार जिल्लामा रहेका छन् । अहिले व्यक्तिगत हतियार मात्र बुझाउन भनिए पनि अझै १६ जनाले नबुझाएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । उनले भने ‘हतियार बुझाउन बाँकी १६ जना जिल्लामै नहुँदा हतियार प्राप्त गर्न गाह्रो भयो ।’ जिल्लामा इजाजतप्राप्त विभिन्न किसिमका हतियारहरु विभिन्न प्रहरी चौकी, इलाका, जिल्ला प्रहरी कार्यालय मार्फत हतियार बुझिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताए । उनका अनुसार १७ नाल बन्दुक र ५ सय ४२ गोली बुझिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्रबमोजिम जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित व्यक्तिहरूलाई हतियार बुझाउन आग्रह गरिएको थियो । प्रशासनले जिल्लाका सम्बन्धित व्यक्तिहरूलाई पहिलो पटक चैत्र ८ गतेदेखि चैत २३ गतेसम्म हतियार बुझाउन भनेको थियो । उक्त समयमा कसैले पनि हतियार नबुझाएपछि प्रशासनले पुनः चैत मसान्तभित्र अनिवार्य हतियार बुझाउन आग्रह गरेको थियो ।

विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो । हाल केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भनेपनि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा कडाई गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update