Shittalpati
पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित

पाल्पा, माध्यमिक शिक्षा परीक्षा एसइईको दोस्रो दिन पाल्पामा गणित विषय दिने एक सय ३६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३२ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमिततर्फ छात्रा ५०, छात्र ५४ र ग्रेडवृद्धितर्फ छात्रा १४ , छात्र १८ जना परीक्षार्थी गणित विषयमा अनुपस्थित भएका हुन् ।

यहाँ परीक्षामा सहभागी हुनु पर्ने विद्यार्थीको संख्या ४ हजार ८ सय ४१ भए पनि दोस्रो दिन ४ हजार ७ सय ५ जना परीक्षार्थी मात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । एक सय ३६ जना अनुपस्थित भएका छन् । उनका अनुसार ४ हजार ६ सय ८२ जना नियमित र २३ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी उपस्थित भएका हुन् ।

जिल्लामा एक सय ३६ विद्यालयका परीक्षार्थीहरुले परीक्षा दिइरहेका छन् । परीक्षाको दोस्रो दिन पनि शान्त र मर्यादित रुपमा परीक्षा सञ्चालन भएको जनाइएको छ । २६ वटा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । उक्त केन्द्रमा २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसइई परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन भइरहेको छ । परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update