Shittalpati
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने

हाम्रा संवाददाता
पाल्पा, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताका लागि समय छुट्याएको छ । यसअघि एक दिनमात्र हुने मनोनयन दर्ता यसपाली आयोगले दुई दिन छुट्याएको हो । भौगोलिक कठिनाइ भएका क्षेत्रहरुलाई मध्यनजर गर्दै आयोगले दुई दिन समय छुट्याएको जनाएको छ । आयोगका अनुसार तोकिएको मिति र समयभित्र आकांक्षीहरुले मनोनयन दर्ता गरिसक्नुपर्नेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न योग्यतासमेत तोकेको छ । जसमा नेपाली नागरिक भएको र २१ वर्ष उमेर पूरा गरेको हुनुपर्ने छ । यस्तै उम्मेदवार बन्न मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानुनले अयोग्य नबनाएको समेत हुनुपर्नेछ । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गर्ने व्यक्तिहरुले धरौटी राख्नुपर्छ । आयोगका अनुसार अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखको हकमा १ हजार ५ सय रुपैँया, वडाध्यक्षको हकमा एक हजार रुपैँया र वडा सदस्यको हकमा ५ सय रुपैँया धरौटी राख्नुपर्छ । तोकेको बैंक वा वित्तीय संस्थामा धरौटी बुझाएर भौचर लिनुपर्ने आयोगले जनाएको छ । पाल्पाका दशवटै स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतका कार्यालय हरुले उम्मेदवारी दर्ताको तयारी पुरा भएको जनाएका छन् । यहाँ निर्वाचन अधिकृतहरुले शुक्रबारदेखि नै काम गर्न थालेका छन् । पाल्पाको मुख्य निर्वाचन अधिकृतमा पाल्पा जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसी खटिएका छन् । उनी तानसेन नगरपालिकामा खटिएका हुन् । त्यस्तै तिनाउ गाउँपालिकाको निर्वाचन अधिकृतमा जनार्दन अधिकारी, निस्दी गाउँपालिकामा दुर्गा प्रसाद बस्याल, पूर्वखोला गाउँपालिकामा मधु अर्याल(खनाल), बगनासकाली गाउँपालिकामा रवि न्यौपाने, माथागढी गाउँपालिकामा मिना अर्याल, रामपुर नगरपालिकामा श्याम प्रसाद श्रेष्ठ, रम्भा गाउँपालिकामा कृष्णप्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकमा टिकाराम अर्याल, र रैनादेवी छहरा गाउँपालिकामा टोलराज उपाध्यायले काम थालेका छन् ।

आयोगले वैशाख १२ गते नै मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय गरिने, १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावपली प्रकाशन गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update