Shittalpati
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

पाल्पा, आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामचन्द्रको जन्म भएको दिनको सम्झनामा रामचन्द्रका मन्दिरमा पूजापाठ गरी यो चाड मनाउने गरिन्छ ।

असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका रामचन्द्रको सम्झनामा राममन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा रामचन्द्रको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका विभिन्न पवित्र नदि, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ । राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ । आजै पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

यस दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । उनको जन्म भएको सम्झनाका आधारमा राम नवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यस्तै राम नवमीका अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्रुको बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।

गृहमन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभर सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update