Shittalpati
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’

स्थानीय तहका सरकार गठन भएर काम गरेको पनि पाँच वर्ष पुग्न लागेको छ । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा यतिबेला विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेका कामप्रति टिकाटिप्पणी हुनु स्वाभाविक नै हो । एकाध ठाउँमा निकै रचनात्मक किसिमले काम पनि भएका छन्, भने अधिकांश ठाउँमा जनअपेक्षा अनुसार स्थानीय सरकारले परिणाम दिन नसकेको गुनासो सुनिएको छ । यसै सन्दर्भमा इमान्दार, संघर्षशील र विकास प्रेमी सन्तोष थापा मगरले माथागढी गाउँपालिकाको नेतृत्व सम्हालेको पाँच वर्ष पुग्न लागेको छ । गाउँपालिकाको मुख्य योजनाकारको छवि बनाएका थापाले तीन वर्ष हाराहारीमा पृथक विकास आयोजना अघि बढाएका छन् । केही नयाँ योजनाको रूपरेखा पनि तय गरिसकेका छन् । वर्षौंदेखि अल्झिएका विकासका कामलाई निरन्तरता दिन उनी क्रियाशील छन् । उनकै क्रियाशीलताका कारण स्थानीय पाठ्क्रम निर्माण गरी देशमै नमूना काम गर्न गाउँपालिका सफल भएको छ । उनै थापासँग पछिल्लो पाँच वर्षमा गाउँपालिकाले के–कस्ता पूर्वधार विकास,समृद्धिका लागि काम गर्‍यो र आगामी योजना के छन् भन्ने विषयमा केन्द्रीत रहेर शित्तलपाटीका उप–सम्पादक रामचन्द्र रायमाझीले गरेको कुराकानीको सम्पादित अशं :

गाउँपालिका अध्यक्ष भएर आएको पनि पाँच वर्ष बित्न लाग्यो, यो पाँच वर्षको अवधिमा विकास र समृद्धिका लागि के–कस्ता काम भए ?

– हामी निर्वाचित भएर गाउँपालिका प्रवेश गर्दा संघीय व्यवस्थामा नयाँ संरचना भएको हुँदा हाम्रो गाउँपालिकाको संरचनामा अत्यन्तै थोरै कर्मचारीहरुले मात्र गाउँपालिकाको दैनिक कार्य सञ्चालन गरेका थियौं र हामीलाई प्राप्त अधिकार प्रयोग गरेर अधिकतम मात्रा व्यवस्थित गरेर लग्यौं । जनतालाई दैनिक सेवा सुविधा प्रदान गर्नका लागि गाउँपालिका र गाउँपालिकाको मातहतमा रहेका ८ वटा वडा कार्यालयहरुबाट छिटो छरितो सहज ढबाट कसरी प्रवाह गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रीत भयो पहिलो कुरा । दोस्रो कुरा गाउँपालिकालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधिहरु निर्माण गर्न लाग्यौं । तेस्रो कुरा स्थानीय तहलाई प्राप्त अधिकार नेपालको संविधानले अनुसची ८ मा एकल अधिकार र साँझा अधिकार अनुसुचिमा रहेका जस्तै उदाहरणका रुपमा आधारभूत स्वास्थ्य अधिकार स्थानीय तहको हो । हामीले गाउँपालिकाभित्र रहेका नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ ढ·बाट प्रवाह गर्नेतिर लाग्यौ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मेवारीभित्र पर्छ । त्यसलाई गुणस्तरीयता कायम गर्ने सँगसँगै स्थानीय पाठ्यक्रमहरु निर्माण गर्ने, औसत उपलब्ध वृद्धि गर्ने र प्राविधिक शिक्षालाई हामीले आफ्नो योजनामा अगाडि बढायौं । यसैगरी स्थानीयस्तरका भौतिक पूर्वाधार निर्माणतर्फ हामीले सडकहरुलाई स्तरोन्तति गर्ने, सडक सञ्जालसँग नजोडिएका वडाहरुलाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने गरी नयाँ ट्रयाकहरु खोल्ने र ग्रावेल गर्ने, कालोपत्रे गर्ने कार्यहरु पनि सुवात गरेका छौं । त्यसैगरी कृषि र पशुतिर हामीले कृषिलाई परम्परागत र निर्वाहमुखी पेशाको रुपमा अगाल्दै आउनुभएका आमनागरिकहरुलाई कसरी व्यवस्थित गर्ने, व्यवसायिकरण गर्ने भन्नेतर्फ लाग्यौ ।

निर्वाचनका बेला नागरिकसँग गरिएका बाचाहरु सबै पूरा भए त ?

– हामीसँग सिमित मात्रमा स्रोत साधन रहे । त्यसैले सबै जनताको माँझमा जाँदा प्रतिवद्धता गरेका कुराहरु पुरा भए भनेर मैले कुनै दावा गर्दिन । तर, पनि अधिकांश नागरिक, मतदाताहरुलाई महशुस हुने गरी स्थानीयस्तरका विकास निर्माणका कामहरु गरेका छौं । कृषि, पशु सँगसँगै शिक्षालाई व्यवस्थित गर्ने, स्वास्थ्यलाई सर्वसुलभ गर्ने अधिकतम रुपमा प्रयत्न गर्‍यौं । समग्रमा आमजनतालाई अनुभुति हुने गरी काम गर्न सफल भएका छौं ।

विकास निर्माणका काम गर्ने क्रममा के–कस्ता अवरोधहरु आए ?

– यस्ता काममा समस्या आएनन् भन्ने त म ठाँन्दिन । तर, हामीकहाँ त्यस्तो ठूलो समस्याहरु भयो भनेर म भन्दिन । मुख्य अवरोधहरु जस्तो अहिले संघ, प्रदेश र स्थानीय तहको साँझा अधिकारहरुको सूचिमा रहेका अधिकारहरु संघीय सरकाले समयमै ऐनहरु नबनाइँदिदा र स्थानीय तहलाई अत्यन्तै न्यून मात्रामा बजेट र अनुदान उपलब्ध गराउँदा समस्याहरु आए । अर्को कुरा स्थानीय तहमै कार्यरत कर्मचारीहरुको प्रदेश सरकारले नै लोकसेवामार्फत व्यवस्था गर्ने, नियुक्ती दिने व्यवस्था छ, तर त्यो लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको लोकसेवा आयोगले काम गरेको छैन । त्यसैले हामी जस्ता धेरै स्थानीय तहहरु कर्मचारी विहीन भएर कामहरु गरिराखेको अवस्था छ । हामी विभिन्न दलबाट निर्वाचनको समयमा उम्मेद्वारी दिएका हुन्छौ । त्यसैको आधारमा जस्तैः अख्तियारहरुमा उजुरी, मुद्दा मामिलाहरु गर्ने कार्य भए तर यसलाई हामीले ठूलै समस्याका रुपमा चाही लिएका छैनौं ।

हालसम्म कति वटा ऐन तथा कानुनहरु बने ?

– हामीलाई आवश्यक परेका ऐन, कार्यविधि तथा मापदण्डहरु निर्माण गरेका छौं । अहिले आधिकारिक रुपमा ४० वटा जति बने । जो हाम्रो एकल अधिकार क्षेत्रभित्र पर्छन् त्यो ऐन, कार्यविधि तथा मापदण्डहरु निर्माण गरेका छौं र त्यो कार्यान्वयन गरिसकेको अवस्था छ ।

कृषिमा गाउँपालिकाको योजना के छ ?

– हो । हाम्रो गाउँपालिकामा हामीले वस्तुगत विवरण तयार गरेका थियौ, हाम्रा अधिकांश नागरिकहरु कृषि र पशुपालनमा आवद्ध हुनुहुन्छ । हामीले हजुरहरुको पेशा के हो ? भन्यो भने कृषि तथा पशुपालन भन्नुहुन्छ । तर, हाम्रो निर्वाहमुखी तथा परम्परागत रहेको छ । हामीले अहिले पनि सबै कृषकले आफुलाई आवश्यक पर्ने परम्परागत रुपमा निर्वामुखि हुने गरी पशुपालन गर्ने, अन्नहरु उत्पादन गर्ने प्रचलन रहेको छ । त्यसलाई, उहाँहरुको सोंच तथा व्यवहारलाई परिवर्तन गर्ने गरी काम गरेका छौं । कृषि र पशुमा हामीले मुख्य ध्यान दिएका छौं । त्यो बिचमा गाउँपालिकाले करिव ७ करोड २५ लाखभन्दा बढी कृषि र पशुमा लगानी गरेको छ । जस्तैः उदाहरणका रुपमा ३ सय ६० भन्दा बढी कृषि मेशिनरी औजारहरु वितरण गरेका छौं । जसले लागतमा कम ल्याउने र उत्पादन बढाउने हुन्छ । दोस्रो कुरा गाउँपालकाले अहिले माथागढी कृषि तथा पशुउद्यमशीलता कार्यक्रम ल्याएको छ । त्यो बाट ३ सय भन्दा बढी कृषक महिला दिदीबहिनीहरुलाई लक्षित गरेर उहाँहरुको इच्छा अनुसारको समूह निर्माण गरेर बाख्रापालन, तरकारी उत्पादन गर्ने र त्यसलाई विक्री वितरण गर्ने गरिएको छ । साथै पशुपालनतर्फ ९ हजार भन्दा बढी स्थानीय जातका चल्लाहरु कृषकहरुलाई थोरै लगानीमा वितरण गरेका छौं । ७ सय ५ भन्दा बढी उन्नत जातका बाख्राका पाठीहरु वितरण गर्ने काम पनि भएको छ । कृषकले उत्पादन गरेका वस्तुहरु बजारीकरणमा कुनै समस्या छैन ।

पाँच वर्षको अवधिमा भएका प्रमुख पाँच कार्यहरु के–के हुन त ?

– ५ वटा मात्र नभई हामीले धेरै कार्य गरेका छौं । गाउँपालिकाको सन्तुलित रुपमा विकासको लागि हामीले योजनावद्ध रुपमा कार्य गर्दै आएका छौं । त्यसमा पनि ५ वटा मुख्य–मुख्य कुरा भन्नु पर्दा पहिलो गाउँपालिकाको हकमा सडकमा अहिले कालोपत्रे तथा सडक निर्माणका कार्यहरु गरेका छौं । दोस्रो शिक्षालाई जोड दिएका छौं । जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम उत्पादन गरेर लागु गरेका छौं । यसले आफ्नो गाउँप्रति, समाजप्रति विद्यार्थीलाई प्रेम र त्यहाँको विकास कसरी गर्न सकिन्छ भनेर ज्ञान सीप हस्तान्तरण गर्दै लैजाने कार्य भएको छ । गाउँपालिकाले शिक्षाको गुरुयोजना निर्माण गरेको छ । तेस्रो स्वास्थ्यमा आवश्यकता अनुसार सेवा सुविधाहरु दिइरहेका छौं । आर्थिक अभावका कारण हाम्रा नागरिकहरु बञ्चित हुन नपरोस् भनी हामीले विपन्न स्वास्थ्य बिमा ल्यायौ । त्यसबाट पाँच वर्षमा ४ हजार विपन्न घरपरिवारको करिव २० हजारले सेवा लिने गरी ४० करोड बराबरको ठूला अस्पतालमा गएर सेवा लिनसक्ने गरी गाउँपालिकाले बिमा गर्दिएको छ । यसैगरी प्रत्येक स्वास्थ्यचौकीमा हामीले वथिङ्ग सेन्टर स्थापना गरेका छौं । जसले शून्य होमडलिभरीको लागि पनि मद्दत पुगेको छ । साथै प्रत्येक स्वास्थ्यचौकीहरुमा निःशुल्क जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा ल्याएका छौं । समय–समयमा निःशुल्क शिविर तथा औषधी वितरण गर्ने कार्य गरेका छौं । हाम्रो अबको आगमी योजना गाउँपालिकाले यसलाई दोस्रो आवधिक योजना निर्माण गरेको छ । यो योजनामा गाउँपालिकाबाट स्वास्थ्य क्षेत्रमा अझै व्यवस्थित गर्ने र थप सेवा सुविधा प्रदान गर्ने योजना छ । चौथो कृषि, पशु सम्बन्धी ठूला प्रोजेटहरु लागू गरेका छौं । पाँचौ गाउँपालिकाले मुख्यगरी खानेपानीको क्षेत्रमा ठूला लिफ्टिङ्ग खानेपानी आयोजना सञ्चालन गरेको छ ।

प्रशासनिक भवन निर्माणमा ढिलाई हुनुको कारण के हो ?

– गाउँपालिका प्रशासनिक भवन यतिबेला निर्माणको चरणमा छ । प्रशासनिक भवन अलि व्यवस्थित रुपमा सञ्चालन गर्न पाए एकै ठाउँबाट नै सबै सेवा सुविधा नागरिकलाई दिन सकिन्छ । त्यसको लागि हामीसँग स्रोत साधनको कमी थियो । अहिले २ वर्षको अवधिभित्र भवन बन्ने गरी टेण्डर खोलिसकेका छौं । योभन्दा अगाडि वडा कार्यालयको भवनबाटै कार्यालय सञ्चालन गरेको हुनाले तत्कालै आवश्यक नभएको कारणले अलि पछि भवन बनाउने सोच्यौ र यो निर्माणको क्रममा छ ।

गर्न चाहेर पनि गर्न नसकिएका काम के–के हुन् ?

– सोंचेर अहिले पनि गर्न नसकेको काम चाही माथागढी शिक्षा स्थापना गरी लोकसेवा जान चाहने व्यक्तिहरुलाई योग्य प्रतिस्पर्धी बनाएर पठाउने इच्छा थियो । माथागढी शिक्षालाई तालिम केन्द्र जस्तो बनाएर योग्य उम्मेद्वार बनाउने चाहना थियो तर, त्यो गर्न सकेनौं । यस्तै माथागढी बहुप्राविधिक शिक्षालय लागि बजेट विनियोजन गरेका थियौं तर कार्यन्वयन गर्न सकेनौं ।

यहाँ फेरि अध्यक्ष बन्ने सोंचमा हुनुहुन्छ ?

– हामी पार्टीका कार्यकर्ता हौं । पार्टीले नै त्यसको विषयमा अध्ययन अवलोकन गर्दछ । पार्टीका विभिन्न संरचना अन्तर्गत कसको आवश्यकता छ त्यो व्यक्तिलाई नै उम्मेदवारी बनाउन्छ । त्यसैले फेरी उठ्ने नउठ्ने भन्ने कुरा पार्टी मै भर पर्दछ ।

अन्त्यमा, भन्नुपर्ने केही छ कि ?

– हामी गाउँपालिकाले सञ्चालन गरेका, सेवा प्रदान गरेका विभिन्न सूचनाहरु जनताको माँझमा गाउँपालिकाको नागरिकहरुको माँझमा पुर्‍याउने गरी यो जनतासँग माथागढी कार्यक्रमको सञ्चालन गरेका छौ । हामीले के आशा गरेका छौ भने, यतिबेला माथागढी गाउँपालिकासँग स्रोत छ, आफ्नो छुट्टै सांगठिक संरचना छ । पूर्ण रुपमा नभए पनि गाउँपालिकासँग आवधनिक योजना पनि छ । हामी हिजो ५ वर्ष अगाडि कहाँ थियौ र अहिले कहाँ पुग्यौ । हामीले अहिले दोस्रो आवधिक योजना निर्माण गरेका छौं । यो योजना आगामी ५ वर्षमा गाउँपालिकालाई कहाँ पुर्‍याउने भन्ने खालको स्पष्ट योजनासँगै दिर्घकालिन योजनाहरु पनि रहेका छन् । यसै योजनाका आधारमा अब आउँने जनप्रतिनिधिहरुले गाउँपालिकालाई जनताको साथ मिल्ने गरी स्पष्ट योजनाका साथमा गाउँपालिकाको विकास र समृद्धितर्फ बढाउन सहज हुने छ । साथै तपाई र तपाईको सञ्चारमाध्यमलाई गाउँपालिका तथा मेरो व्यक्तिगत तर्फबाट विशेष धन्यवाद !

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update