Shittalpati
बगनासकाली गाउँपालिकाका ८६ प्रतिशत  भन्दा बढी योजना सम्पन्न 

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले फागुन मसान्तसम्म ८६ दशमलव ४४ प्रतिशत योजना सम्पन्न गरेको छ । गाउँपालिकाले स्विकृत  एक सय ७७ योजना मध्ये एक सय ५३ वटा योजना सम्पन्न गरेको हो ।

यो स्विकृत योजनाको ८६ दशमलव ४४ प्रतिशत  हो । बाँकी योजनाहरु कार्यान्वयनको चरणमा रहेको    सार्वजनिक कार्यक्रममार्फत पालिकाले जनाएको छ ।  सार्वजनिक सूनुवाईमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले मंसिरदेखी फागुन मसान्तसम्म ३६ दशमलव २७ प्रतिशत बजेट खर्च भएकोमा चालुतर्फ ४४ दशमलव ९४ र पुँजीगत तर्फ १७ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।  यसैगरी गाउँपालिकाले हालसम्म एक सय ९ वटा ऐन, नियम र कार्यविधी निर्माण गरेको, पालिकाले एक करोड राजश्व संकलनको लक्ष्य लिएकोमा ८५ लाख ६० हजार संकलन गरिसकेको, ७४ जना दिर्घरोगीलाई मासिक ५ हजारका दरले पहिलो किस्ता रकम उपलब्ध गराएको, सबै स्वास्थ्य संस्थामा पर्याप्त औषधी खरिद गरी वितरण गरेको जनाएको छ । ४ महिनाको अवधिमा  विद्यालयका सबै विद्यार्थीको दुर्घटना विमा गरेको, हालसम्म ४४८ अपाङ्ग परिचयपत्र वितरण भएको, ७० जनालाई श्रम स्विकृतीको लागि सहजीकरण गरिएको, एक सय जना भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यबस्थित बसोवासीका व्यक्तिलाई निस्सा बाँडिएको, ९ हजार १ सय ३२ जना कृषकका ८१ हजार २ सय ८ पशुपक्षीमा उपचार सेवा प्रदान गरिएको, घर–घरमा पालेका गाईमा लम्की स्किन खोप लगाइएको, चालु आर्थिक बर्षमा १९३ जना जन्मदर्ता, ९८ जना मत्यु दर्ता, १३९ वटा विवाह, २१ वटा सम्वन्ध विच्छेद र बसाई सरी आएको ६ र सरी गएको ४५ परिवार रहेका छन् । कृषकहरुको लागि ५० प्रतिशत अनुदानमा विउ विजन वितरण गर्दै आएको बगनासकाली गाउँपालिकाले जनाएको छ । 
    

सार्वजनिक सुनुवाईमा नागरिकले गाउँ–गाउँका समस्यादेखी, शुसासन, पारदर्शीता जवाफदेहिता, जिम्मेवारीतामा केन्द्रित रहेर पालिकाका जनप्रतिनिधी, कर्मचारीहरुलाई प्रश्नहरु राखेका थिए । उनीहरुले गाउँ–गाउँमा बादर आंतकले बस्न खेतीपाती गर्न कठिनाई भएको, उत्पादनमा आधारित दुधको अनुदान नपाएको,  अनुदानमा पटक–पटक  एउटै व्यक्तिलाई मिनी टिलर  पालिकाबाट अनुदानमा दिने, कतिपय व्यक्तिले विक्रि गर्ने, बजार अनुगमन नभएको, बाटो क्षेत्रका अतिक्रमण घरबस्ती हटाउने भनेर सूचना निकाल्ने तर कार्यान्वन नगर्ने, मौसम सिजनमा अनुदानको विउ विजन वितरण हुने गरेको, जनप्रतिनिधीहरु हुल बाधेर अनुगमनमा जानुभन्दा प्राविधिकले मात्र अनुगमन गर्नुपर्नेमा  सुझाव दिएका छन् । 

उनीहरुले कर्मचारी तथा जनप्रतिनिधिहरुबाट जनतामैत्री व्यबहार नभएको, पालिकाका योजनाहरु गुणस्तरीय अनुगमन नभएको, पालिका  भवन बनाउँदा र उद्घाटन गर्दाको खर्च विवरण वेभसाईटमै राख्नु पर्ने र जनताबिच सार्वजनिक हुनुपर्ने, राज्यमा बजेट कम भएकोमा जनप्रतिनिधी तथा कर्मचारीहरु विभिन्न स्थानमा हुने भ्रमणका कार्यक्रमहरु स्थगित गर्नुपर्ने, जनप्रतिनिधीहरुले  पोशाक भत्ता फिर्ता गर्नुपर्ने, पालिका स्तरीय परीक्षमा तिनाउँ गाउँपालिकाका प्रश्न वितरण गरेको, पालिका भवन उद्घाटन गर्दाको खर्च विवरण सार्वजनिक नभएको, पालिकाको विद्यालयमा खानेपानीको व्यवस्था राम्रो नभएको, लगायतका विषयमा प्रश्न उठाए । 
 उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामीले  जनताले उठाएका गुनसा, सुझावहरुलाई कार्यान्वयन गर्ने र जनप्रतिनिधी कर्मचारीहरुलाई थप जिम्मेवारी बनाएको बताईन । कार्यक्रममा पालिका उपाध्यक्ष हरि प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गैरे, वडा नं. ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सीना, शिक्षा शाखा प्रमुख निशा पाण्डे, कृषि प्राविधिक खिमराज कोईरालाले उठेका प्रश्नहरुको जवाफ दिएका थिए । पालिका अध्यक्ष चिदीको अध्यक्षता, बगनासकाली पत्रकार समुहका अध्यक्ष भोजराज तिमिल्सेना र सचिव दयाराज न्यौपानेको सहजीकरणमा कार्यक्रम भएको थियो । 
         
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update