Shittalpati
आजदेखि अर्गली–पाल्पा महोत्सव सुरु

पाल्पा, पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा आजदेखि अर्गली–पाल्पा महोत्सव सुरु भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म हुने अर्गली–पाल्पा महोत्सव विहीबादेखि सुरु भएको हो ।

महोत्सवको लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले उद्घाटन गरेकी हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री रायमाझीले स्थानीय स्तरमा उत्पादित वस्तुको विक्री वितरणसँगै प्रचार प्रसार गर्न महोत्सवले महत्वपूर्ण टेवा पुग्ने बताईन् । उनले स्थानीय कृषि उत्पादनको वृद्धि गर्न प्रदेश सरकारले विशेष योजना ल्याएको बताईन् ।

‘पाल्पा, गुल्मी, स्याङजाको संगमस्थल रुरु धाम जाउ, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउ’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन भएको छ । यस क्षेत्रमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शन, बिक्री–वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत महोत्सवको अवधिभर प्रदर्शन गरिने क्लवका अध्यक्ष अर्जुन कौशले बताए । महोत्सवमा कृषि प्रदर्शनी, कुटीर उद्योगबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, हस्ताकलाका उत्पादित वस्तुको विक्री वितरण, दैनिक उपभोग्य वस्तुको विक्री वितरण, स्वदेशी तथा विदेशी लत्ताकपडाको विक्री वितरण, स्थानीय संस्कृतिको प्रवद्र्धन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । महोत्सवको पहिलो दिन ५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । पहिलो दिन उद्घाटन भएकाले पनि दर्शकको उल्लेखीय सहभागिता नरहेको आयोजकको भनाई छ ।

सांस्कृतिक कार्यक्रमतर्फ स्थानीय संस्कृति झल्कने झाँकी, भजन किर्तन, धार्मिक प्रहशन, बटुकहरुबाट स्वस्ती वाचन, मौलिक सालैजो, सोरठी, झ्याउरे, फागु गायन तथा नृत्य समेत रहेका छन् । महोत्वसका अन्य आकर्षणहरुमा बाल उद्यान, विभिन्न खानाका परिकार, कालीगण्डकी नदीमा ¥याफटिङ रहेका छन् । महोत्सव अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाबाट दर्शनहरु रिडी पुगेका छन् । महोत्सवबाट संकलन भएको रकमले मुस्लुकडाँडामा निर्माण भएको शौचालयका लागि अपुग रकम दिइने, रिडीमा निर्माण गर्ने शवयात्री प्रतिक्षालय/पौवा निर्माणमा खर्चिने क्लवका अध्यक्ष कौशले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update