Shittalpati
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल

रमेश विश्वकर्मा
गुल्मी, हात खुट्टा नभएका व्यक्तिले जीवनमा केही गर्न सक्दैनन्, उनीहरु परनिर्भर भएर बाच्नु पर्छ र समाजका बोझ हुन् भन्ने सोँच अझै पनि नेपाली समाजमा छ । तर गुल्मी मुसिकोटका एक युवकले भने समाजको साेंचलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुमा पनि अद्भूत क्षमता र ज्ञान हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।

मुसिकोट नगरपालिका–३ का शालिक खत्री अपाङ्गता भएपनि एक औंलाको भरमा सूचना प्रविधिको प्रयोगमा आफुलाई अब्बल सावित गरेका छन् । खत्रीका दुवै हात खुट्टा सग्ला छैनन् । उनका हात खुट्टा भए पनि चल्दैनन् । बाँया हातको बुढी औंला मात्र कोसिस गरेर चल्छ । तर खत्री सूचना र प्रविधिमा अब्बल छन् । उनले बुढी औंलाको भरमा मोबाइल चलाउँछन् । मोबाइलमा उनी फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा क्रियाशिल छन् । औंलाको भरमा खत्रीले मोबाइलमार्फत व्यापारिक वा अन्य लोगो, डिजाइन, समाचारहरु सम्पादन अनि वेबसाईटमा अपटेड, विज्ञापनहरुको डिजाइन, सन्देशमूलक सूचनाहरुको डिजाइन, मोबाइल बैंकिङ्ग चलाउने लगायतका थुप्रै काम गर्छन् । उनी आफु अपाङ्गता भएर विस्तारा वा घरबाट बाहिर निस्कन नसक्ने भएपनि सामाजिक सञ्जाल मार्फत अभियान चलाएर अरुलाई बचाउँछन् ।

शालिक जन्मदेखि नै बिरामी हुन् । अहिले ३२ वर्ष पुगेका उनलाई स्पाइनल विपिराले संक्रमण गरेको थियो । स्पाइनल विपिरा नामक रोगबाट पीडित उनी विस्तारै झन् बिरामी हुँदै गए । उपचार नपाएपछि रोगले विस्तारै च्याप्दै गएको उनी बताउँछन् । लामो समय रोगबाट ग्रसित भएपछि ७ वर्षअघि मात्र उक्त रोगको अप्रेशन गरेपछि Þवील चियरको सहारामा खत्रीले जीवन बिताइरहेका छन् । उनलाई खुवाउन, सुताउन र अन्य सबै क्रियाकलाप गर्न आमा भिमकुमारी खत्रीको सहयोग छ ।

कक्षा ८ सम्म महिनाको २/३ दिन गएर भएपनि अध्ययन गरेका खत्रीको त्यसपछि खुट्टा र हात नचलेपछि अध्ययन रोकियो । उनले वामीटक्सारमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा पढ्थे । छिटो उपचार गरेमा निको हुने रोग भएपनि शालिकको घरमा उपचारको सोंच कहिल्यै आएन । आर्थिक अभावका कारणले सामान्य रोग सोच्दै जाँदा पछि रोगको असर ठूलो भएपछि उपचार पनि सम्भव नभएको आमा भमिकुमारीले बताइन् । खत्रीलाई अन्दाजको भरमा १ वर्ष २ महिनासम्म कुष्ठरोगको औषधी खुवाएको आमा भिमकुमारीले बताइन् । अन्दाजको भरमा सबैले कुष्ठरोग भनेपछि औषधी खुवाइएको हो । ‘निको हुने आशले सबैले कुष्ठरोग भनेपछि औषधी खाएँ’ शालिकले भने । ‘औषधी फरक परेपछि झन् ठूलो असर परेजस्तो लाग्छ ।’ लामो समयसम्म अन्य कुनै उपचारको प्रयत्न नभएको खत्रीले बताए ।

कुष्ठरोगको औषधी खाएको धेरै समयपछि मात्र अर्को रोग पत्ता लागेको हो । खत्रीको बुढी औंला बाहेक अरु नचलेपछि त्यही एक औंलाको सहायताले मोबाइल चलाउन सुरु गरे । उनलाई फेसबुक चलाउन, लोगो बनाउन, समाचार सम्पादन गर्न, समाचार वेबसाईटमा अपटेड गर्न वा सामाजिक सञ्जालका अन्य क्रियाकलाप, सूचना र प्रविधिसँग जोडिएका सबै क्रियाकलापहरु कसैले सिकाएको हैन । खत्रीसँग रातभर मोबाइल चलाइरहँदा फेसबुक एप्स सुनेको भरमा फेसबुक आइडी खुलेको अनुभव छ । त्यसैबाट विस्तारै नजानेर पनि प्रयास गर्दा ठूलो सफलता मिल्यो । शालिकले अहिले अनलाइनहरु चलाउने, व्यक्तिगत ब्लग बनाउने लगायतका अनलाइन वेबसाईटहरु बनाउने गर्छन् । ‘मैले केही सीप सिक्ने वा पढ्ने गरेको हैन ।’ विस्तारैबाट खत्रीले भने, ‘बसिरहँदा मोबाइल चलाएर सिक्दै गएको धेरै कुरा जान्ने भएँ ।’ निरन्तर प्रयास गरेका कारणले आफु एउटा औंलाको भरले पनि सूचना र प्रविधिमा अब्बल हुन पुगेको खत्रीले बताए । मोबाइलमा प्रयास गर्दा गर्दै नयाँ–नयाँ कुरा सिकेको उनको अनुभव छ ।

अहिले भिमकुमारीका श्रीमान मीनबहादुर छैनन् । उनका ४ छोरा मध्ये शालिक कान्छा हुन् । शालिकले अहिले ‘क’ वर्गको अपाङ्गता भत्ता पाउँछन् । ६८ वर्षकी आमा भिमकुमारीले शालिकको रेखदेख गरिरहेकी छन् । रोग निको नहुने भएपछि उपचारमा जान आफुलाई झन्झट लाग्ने गरेको शालिकले बताए । उनले सामाजिक सञ्जाल फेसबुक म्यासेञ्जर समूहबाट चिनजान गरेर ह्वील चियर घरमा आइपुगेको बताए । अपाताको जटिल क्षण बिताइरहेका शालिकलाई Þवील चियर सहयोग गर्ने मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update