Shittalpati
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा, अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले प्रभातफेरिसहितका कार्यक्रम गर्दैछन् । आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटि·लको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आÞवानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्वपूर्ण भूमिका खेल्छ । यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठूलो जिम्मेवारी वहन गर्छन् । उनीहरूको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस‘ मनाइन्छ । वास्तवमा आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा वि.सं २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ । विश्व नर्सिङ दिवस हरेक वर्षको मे १२ को दिनमा मनाईदै आएता पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्षको माघ १५ गते मनाउने गरीएको छ । अन्तर्राष्ट्रिय नर्स परिषद्को तथ्यांक अनुसार नेपालमा नर्सहरूको संख्या १ लाख ५ हजार छ । नर्सिङमा विद्यावारिधिसम्मका कक्षाहरु छन् । तर नर्सहरुको व्यावसायिकता र पारिश्रमिकको पक्ष भने कमजोर छ । १० देखि १२ लाख रूपैयाँ खर्चेर पढेका नर्सले निजी अस्पतालमा अहिले पनि मासिक १०, १२ हजारमा मात्रै काम गर्नु परेको गुनासो गर्दै आएका छन् ।

नेपालमा सरकारी तथा निजी स्तरमा गरी साढे २ सय शिक्षण संस्थाबाट वर्षको ८ हजारभन्दा धेरै जनशक्ति उत्पादन हुने गरेको छ । तर योग्यता अनुसार रोजगारी, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्दा सुविधाको खोजीमा विदेशिनेको संख्या बढ्दो छ । विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा भने एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपरेको तथ्यांक छ । नेपालको नर्सिङ पेसा अझै व्यवस्थित हुन सकेको छैन । नर्सलाई न्यूनतम पारिश्रमिक पाउन आन्दोलनमै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्स पेसाको आदर्श उँचो भए पनि अहिले विदेशिन बाध्य छन् । नर्सबिना अस्पतालको कल्पनासमेत गर्न सकिँदैन तर हजारौँ नेपाली नर्स अझै न्यूनतम सेवा सुविधाबाट वञ्चित हुनुु परेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update