Shittalpati
शैक्षिक र बौद्धिक विकासमा जोड

नेपाली समाज रुपान्तरणका लागि हामी अत्यन्तै संयमित भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । समाजमा हुने हरेक क्रियाकलाप र त्यसका अवयवहरुको विकसित रुपलाई समाजशास्त्रीहरुले समयसापेक्ष विभिन्न किसिमका व्याख्याहरु गर्ने गरेका छन् । राजनैतिक, सामाजिक, आर्थिक रुपान्तरणका लागि भएका प्रयासस्वरुप सबैभन्दा पहिला शैक्षिक र बौद्धिक विकासमा जोड दिनुपर्ने हुन्छ । यदि यी सबै समस्याका समाधानका लागि शिक्षा र चेतनामा वृद्धि नभएसम्म कुनै पनि मानवीय विकास हुने आशा नगर्दा हुन्छ । मानवीय विकासका लागि परम्परागत शैली र संस्कृतिको जगेर्ना पनि जरुरी छ । राजनैतिक चेतना भन्नासाथ नारा जुलुस गर्ने र घरघरमा झण्डा टाँस्ने मात्र हुन सक्दैन, त्यसका लागि समाज रुपान्तरण हुने खालका नयाँ र विकास अनि चेतनाको वर्षा हुने गरेर, राजनैतिक प्रभावकारिता हुनु जरुरी छ ।

सामाजिक चेतना भन्ना साथ, समाजका हरेक राम्रा र नराम्रा कुराको बारेमा जानकारी राख्नुका साथै उनीहरुका दैनिक इकाईका लागि हुने कामको व्याख्या गर्नु मात्र हुन सक्दैन् । समाज सुधारका साथै समाजमा देखिएका अनेकौं क्रियाकलापहरुको समय अनुकुलताका आधारमा रहेर काम गर्नु पर्ने हुन्छ । परम्परागत शैली र धार्मिक सहिष्णुताका लागि पनि सामाजिक दायित्वलाई समाजबाटै वहन गरिनुपर्ने हुन्छ । समाज नै राष्ट्रको ऐना हो, परिवार समाजको ऐना हो, यी सबै इकाईहरुको तालमेलरुपी ठूलो पर्खाल भनेको देश हो । अर्थात् घर राम्रो भए, समाज पनि राम्रो बन्दै जान्छ, समाज राम्रो भए, देश नै राम्रो हँुदै जान्छ, अनि मात्र हाम्रो सामाजिक धरोहरले मजबुत जगमा अडिएर बस्ने अवस्था आउँछ । त्यसकारण समाज रुपान्तरणका लागि घर परिवारमा पनि रुपान्तरण हुन जरुरी छ । राजनैतिक, सामाजिक विकाससँगै आर्थिक विकासको पाटोलाई पनि ओदानका तीन खुट्टा मध्येको एउटा खुट्टा आर्थिक विकासको पाटो हो भनिएको छ । आर्थिक विकासलाई वैभवता र सम्पन्नतासँग गाँस्ने खालका कतिपय अलोकप्रिय चर्चा गरिने भएता पनि आर्थिक पाटो मजबुत नभएसम्म हाम्रो समाजले सम्पन्तताको आधारशीला पत्ता लगाउन सक्दैन । त्यसकारण आर्थिक पाटोलाई पनि समाजको एउटा खम्बा भनिएको हो । यी तीनै पाटाहरु सबल बन्नासाथ देश र समाज प्रगतिपथमा लाग्छ, अनि मात्र हामी विकसित देशका असल नागरिक हुन सक्छौं, त्यसका लागि सरकार र सरकारी निकायले मात्र चाहेर हँुदैन, स्वयम् हामी र हाम्रो समाजमा आफै पनि लाग्नुपर्छ ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update