Shittalpati
होलीको हर्षोल्लास

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको बगनासकाली घर भएका मीना बस्याल, रेनुका न्यौपाने र गुल्मीकी शान्ति शाहीले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।

केही सीमित साथीहरूसँग भेटेर रङकै माध्यममा होली मनाइएको मीना बस्यालले सुनाइन् । त्यस्तै टुँडिखेलमा होली खेल्नकै लागि आएका रुपन्देहीकी इन्द्रा केसी र राधिका भुषालले पनि सुरक्षित रूपमा होली खेले । ‘घरमा कोरोनामात्र भनेर बस्दा–बस्दा वाक्क नै लागिसक्यो’ इन्द्राले हाँस्दै भनिन्, ‘साथीहरू मिलेर कलरसँग खेल्दा निकै फ्रेस फिल भएको छ ।’ कोभिड–१९ को सम्भावित प्रकोप र संक्रमणको जोखिमबीच पनि पाल्पासहित पहाडी, हिमाली र तराई जिल्लामा अधिकांशले हर्षोल्लासका साथ होली पर्व मनाए । पहाडी, हिमाली भेगमा विहीबार र शुक्रबार तराई भेग होलीको रंगमा रंगिए । विश्वव्यापी कोरोना महामारीका कारण बितेका दुई बर्ष खुलेर रंगमा रमाउन नपाएका नेपालीजनले यसबर्ष भने भव्यताका साथ होली मनाएका छन् । यस वर्ष के बालक, के वृद्ध अनि के वयस्क सबैको तनमन रंगमा रंगियो । हरेक वर्ष फागु पूर्णिमाका दिन पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली हाम्रो धर्म–सांस्कृतिक र रितिरिवाजको निरन्तरता हो । आपसी सहिष्णुताको प्रतिक हो । अनि दुःखहरु बिर्सिएर रमाउने एउटा गतिलो बहाना पनि हो । बितेका दुईवटा होलीमा केरोनाको कहरले खुलेर रम्न नपाए पनि यस वर्ष भने होलीको रंगमा रमाउनेहरु निकै उत्साहित देखिए । पिचकारींसँग रमाएका बालबालिका र रंगको उमंगमा चुलुम्म डुबेका युवा अनि पुराना यादहरु संगाल्दै अबिर र केशरीको टिका लगाएका वृद्ध पुस्ता सबैका लागि होलीको आ–आफ्नै महत्व छ । विभिन्न संघ संस्था तथा व्यवसायिक कम्पनीहरुले समेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरे ।

शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ । होलीको अवसरमा पाल्पा सहित देशभरका विभिन्न स्थानमा होली विशेष कार्यक्रम समेत भए । गत वर्ष कोरोनाका कारण सार्वजनिक स्थानहरूमा मनाइएको थिएन । यसअघिको जस्तो एक हप्ताअघिदेखि बाटोमा हिँड्ने नागरिकले खेप्नुपर्ने सास्ती भने यस वर्ष सामना गर्नु नपरेको तानसेनको टुँडिखेलमा होली खेल्न आएकी कमला सूर्यवंशी बताउँछिन् । उनी भन्छिन्, ‘होलीकै दिन पनि खेल्न नचाहनेलाई बाध्यात्मक अवस्था छैन हुलमै पुगेर पनि बच्नसक्ने अवस्था छ ।’ समयक्रमको विकाससंगै होली मनाउने शैली र परम्परामा निकै परिवर्तन आएको छ । गाउँघरमा साथीभाई र आफन्तजन जम्मा भएर होली गित गाउदै मनाईने यो चाडको परम्परागत महत्व र रौनक भने अहिले नरहेको अग्रजहरुको ठम्याई छ ।

तस्वीर : गुल्मीको चिदीचौरमा रङ खेल्दै युवा तथा बालबालिकाहरु । –पत्रकार अनिल खत्री

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update