Shittalpati
रेग्मीद्वारा लिखित ‘अमर पात्र’को तानसेनमा परिचर्चा

पाल्पा, पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीद्वारा लिखित ‘अमर पात्र’ को तानसेनमा परिचर्चा गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले साहित्यकार रेग्मीको ऐतिहासिक नाटक संग्रह ‘अमर पात्र’को एक औपचारिक कार्यक्रमका बिच परिचर्चा गराएको हो ।

परिचर्चा कार्यक्रममा प्रमुख अतिथि देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले साहित्यकार रेग्मीको नाटक संग्रह अमर पात्र निकै पठनीय रहेको बताए । पाल्पाको ऐतिहासिक विषयवस्तुलाई लेखले नाटक संग्रहका रुपमा चित्रण गर्न खोजेको अध्यक्ष देउरालीको भनाई छ । नाटक संग्रहको रुपमा प्रकाशित भएको अमर पात्रका विषयमा जिल्लाका साहित्यकार र स्रष्टाहरुलाई जानकारी गराउन पाल्पा साहित्य समाजले परिचर्चा कार्यक्रम आयोजना गरेको समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले बताए । उनले पुराना साहित्यकारहरुको संरक्षण र नयाँ साहित्यकार उत्पादन गर्ने दिशामा पाल्पा साहित्य समाजले विगतदेखि नै काम गर्दै आएको सन्दर्भमा प्रकाशित कृतिहरुको समेत बेला बेलामा छलफल, चर्चापरिचर्चा गराउने गरेको बताए । कार्यक्रममा साहित्यकार सविता भट्टराई, डा.शंकर प्रसाद गैरे, टंक पन्थ, बुद्धिप्रसाद शर्मा लगायतले जिल्लाको साहित्य क्षेत्रको विकासमा अमर पात्र कृतिले महत्वपूर्ण टेवा पुर्‍याएको बताए । कृतिको माउन्ट भ्याली इङ्लिस स्कुलका प्रिन्सिपल प्रेम खरालले समीक्षा गरेका थिए । कृतिको समीक्षा गर्दै खरालले कृति ‘अमर पात्र’ भित्र पाल्पाका मणिमुकुन्द सेन, कर्णेल उजिरसिंह थापा, काजी अमरसिंह थापा र राजा पृथ्वीपाल सेनकालीन अवस्थाको नाटक संग्रहित गरिएको बताए । सोही अवसरमा कलाकार बिष्णु पन्थले नाटकभित्रको गीत गाएर सुनाएकी थिईन भने कलाकार आयाम कार्कीले छोटो नाटकीय संवाद प्रस्तुति गरेका थिए ।

समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको अध्यक्षता, सदस्य कमल खत्रीको स्वागत, सचिव महेन्द्र पन्थीको सञ्चालनमा परिचर्चा कार्यक्रम भएको थियो । रेग्मीद्वारा लिखित ‘अमर पात्र’ कृतिको २०७७ फागुन २२ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन भएको थियो । उक्त कृतिको मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विमोचन गरेका थिए । लेखक रेग्मीले उपन्यास कविता, कथा, जीवनी, गजल, अनुसन्धान लगायतका दर्जान बढी कृतिहरु प्रकाशित गरिसकेका छन्, भने दर्जानौ साहित्यिक सम्मानबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update