Shittalpati
खस्कदो सदाचार र सुशासन

पछिल्लो समय सार्वजनिक क्षेत्रमा सुशासन र सदाचारको महत्व बढेर गएको छ । सर्वसाधारणहरूको अनुभूतिमा नैतिकता र सुशासनको स्तर निकै कमजोर छ । नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन् । तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन । संघसंस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ । नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारी माथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन ।

सार्वजनिक प्रशासनमा नैतिकता र सदाचारभन्दा पनि भ्रष्टाचारले गाँजेको सर्वत्र महशुस गरिएको छ । शासन प्रणालीमा नैतिकता, सदाचारिता, सच्चरित्रता र इमान्दारिताले मात्र सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सकिन्छ । राजनीतिक नेतृत्व र निजामती प्रशासनप्रति जनताको आस्था र भरोसा जीवन्त राख्न अनुशासित वातावरणको विकल्प छैन । माथिदेखि तलसम्म स्वेच्छाचारी प्रवृत्ति हावी भइराखेको वर्तमान परिप्रेक्ष्यमा अनुशासन खस्कदो अवस्थामा छ । कर्मचारीहरूको कार्यसम्पादन स्तरको निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पुरस्कार र दण्डको प्रभावकारी अवलम्बन गर्न सके सार्वजनिक सेवा प्रवाहमा अनुशासन र सुशासनको प्रवद्र्धन आशातीत रूपमा हुन सक्छ । सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै ।

त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचारी पनि हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ । प्रशासनलाई इमानदार बनाउन राजनीतिक नेतृत्वको अहम् भूमिका रहन्छ ।

तर राजनीति नेता, जनप्रतिनिधि तथा कानुन निर्माताको गहन जिम्मेवारी पाएकाहरु नै एकपछि अर्को अनैतिक प्रकृतिका सार्वजनिक अपराधमा मुछिएका घटनाहरू उजागर हुँदै जानु सुशासन र समृद्धिका लागि शुभसंकेत भने होइन । हरेक क्षेत्रमा मौलाएको स्वेच्छाचारिता, अनुशासनहीनता, आफू अनुकूल कानुनी व्याख्या र प्रयोगका कारण कानुनी राज्यको अनुभूति सर्वसाधारणका लागि आकाशको फल बनेको छ । सदाचार र सुशासन भाषणमा होइन व्यवहारमा हुनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update