Shittalpati
महाशिवरात्रि पर्व र यसको महत्व

हिन्दु धर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिवमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । शिवरात्रीमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु पनि बर्त बस्ने गर्दछन् । शिवरात्रीको दिन भगवान शिव र पार्वतीको बिहे भएकाले पनि यस दिनलाई विशेष महत्वका साथ लिने गरिन्छ ।

शिवको पूजा रात्रिको समयमा गरिन्छ । जबकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान् शिवको पूजा गर्ने विधान छ । भगवान् शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकोले संहार शक्तिका अधिष्ठातृ देवता हुन् । त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । कृष्णपक्ष र शुक्लपक्ष गरी महिनामा दुई पक्ष हुन्छन् । शुक्ल पक्षमा चन्द्रमा क्रमशः पूर्ण स्थितिमा आउने भएकाले चराचर जगतका सम्पूर्ण रसवान् पदार्थहरूको पनि क्रमशः वृद्धि हुँदै जान्छ । त्यसैगरी कृष्णपक्षमा चन्द्रमा क्रमशः क्षीण हुँदै जाने हुँदा रसवान् पदार्थहरूले पनि क्षीण हुँदै जान्छन् । चन्द्रमा कृष्णपक्ष अमावश्यामा एकदमै क्षीण हुने हुँदा त्यसको प्रभाव भूमण्डलका सम्पूर्ण प्राणीमा पर्दछ । कृष्णपक्षको यही रात्रिमा शिवजीको आराधना गर्ने नियम बनाइएको हो । कृष्णपक्ष त हरेक महिनामा हुन्छन् तर ती हरेक महिनाको त्रयोदशीको रात्रिलाई किन शिवरात्रि भनिदैन ? अवश्य पनि हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिदैन तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगलमय कामना गर्छन् । त्यसैले शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व रहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update