Shittalpati
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै

पाल्पा, प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदै छन् ।

देशभरका शिवालय मन्दिरहरुमा विहानैदेखि भक्तजनको घुईंचो लागेको छ । विशेषतः काठमाडौंको पशुपतिनाथ शैवमार्गी हिन्दूका लागि एकमात्र शिवलोकका रुपमा प्रसिद्ध
छ । प्राचीन कालदेखि नै शैवधर्मको केन्द्र मानिने नेपालमा महाशिवरात्रीका अवसरमा विशेषगरी भारतबाट आउने साधुसन्तका कारण पनि पशुपतिनाथ मन्दिर परिसर निकै रमणीय बन्ने गरेको छ ।
हिन्दू संस्कृतिमा कालरात्री, सुखरात्री, मोहरात्री र शिवरात्री जस्ता चार रात्री प्रख्यात छन् । कसैले भगवान शिवको जन्म भएकाले आराधना गर्ने गरेको मान्ने गर्छन् भने कसैले शिवरात्रीको दिन भगवान शिवको पार्वतीसँग विवाह भएको विश्वास गर्छन् । यो दिन भगवान शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रुपमा धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ । भगवान शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने किंवदन्ती छ । शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकार्ने गरिन्छ । कतै–कतै भगवान शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा आदिको सेवन गर्ने चलन छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update