Shittalpati
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो

पाल्पा, पाल्पा लगायत देशभर मगर समुदायले आइतबार हर्साेल्लासका साथ ४० औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् । पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् ।
दिवसका दिन माथागढी गाउँपालिकाको लखन थापा पार्क सराई फूलबारीमा सांस्कृतिक प्रस्तुति र खाना महोत्वस भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नेपाल मगर संघ वडा कार्यालय ३ को व्यवस्थापनमा यहाँ भव्य रुपमा कार्यक्रम भएको हो । संघले मगरी नाँच, मगरी खाना प्रदर्शन गरेको थियो । उक्त कार्यक्रमलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बाधेन गर्दै उनले गाउँपालिकामा मगरहरुको ठूलो जनसंख्या रहेकाले मगरी संस्कृति र पहिचानको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले योजना र कार्यक्रमहरु ल्याएको बताए । मगर सुमदाय पछिल्लो समय निकै नै पछाडी परेकाले सबै एकजुट भएर अगाडि बढ्न मगर समुदायलाई उनले आग्रह गरे ।

अध्यक्ष थापाले देशभर छरिएर रहेका मगरहरु एकजुट नभएसम्म मगर समुदायहरुका कुनै पनि माग सुनिश्चित हुन नसक्ने बताए । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले पछिल्लो समय मगर संस्कृति हराउँदै जान थालेको प्रति चिन्त व्यक्त गर्दै त्यसको संरक्षणका लागि सबै मगर समुदाय एक जुट हुनुपर्नेमा जोड दिइन् । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेज घर्ती मगरले जिल्लाका मगरहरुलाई एक ठाउँमा ल्याउन संघले विशेष योजना बनाएको बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवाली, वडा नं ३ का वडा अध्यक्ष शिव घिमिरे लगायतले आ–आफ्ना धाराणा राखेका थिए । उता एकिकृत मगर उत्थान समाज रामपुर र नेपाल मगर संघको संयुक्त आयोजनामा विविध कार्यक्रमहरु भए । सोही अवसरमा मगरी कला, संस्कृति, भेषभुषा र खाना प्रदर्शन गरिएको थियो । बेझाँड बजारमा ¥याली सहित सांस्कृति झाँकी प्रदर्शन, विभिन्न मगरी खाना परिकारहरु प्रदर्शन, गरिएको थियो । दिवसको पूर्व सन्ध्यामा शनिबार रामपुरका युवाहरुले सद्भाव पूर्ण मोटरसाईकल ¥याली समेत निकालेका थिए ।

समाजले मगर समुदायलाई गोलबद्ध गरी संस्कृतिको संरक्षण र प्रचार–प्रसार गर्दैै आएको छ । दिवसका अवसरमा पाल्पाको तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकामा समेत कार्यक्रमहरु भएका थिए । दिवस मनाइरहेकै बेला मगरको भेषभूषा संस्कृतिलाई झल्काउने पोशाकमा सहभागी भएका मगर समुदायका व्यक्तिहरु निकै नै उत्साहित देखिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update