Shittalpati
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस

हाम्रा संवाददाता
पाल्पा, मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४० औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ  । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले आज यो दिवस मनाउँदै छन् । मगरहरुको सांगठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शन सहितका साँस्कृतिक कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दी लगायतका स्थानमा भव्य साँस्कृतिक कार्यक्रम हुँदै छन् । मगरको बाहुल्यता रहेका यहाँका स्थानीय तहहरुमा आज सार्वजनिक बिदा समेत दिइएको छ । माथागढी गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र तानसेन नगरपालिकाहरुले सूचना जारी गर्दै विदाको घोषणा गरेका छन् । निस्दी गाउँपालिकाले १५ र १६ गते दुई दिन विदा दिएको सूचनामा उल्लेख छ । विदा घोषणा गरेका अन्य पालिकाले भने एक दिन दिवसका दिन मात्र सार्वजनिक विदा दिएका छन् । यहाँका स्थानीय तहले फागुन १५ गते आइतबारका दिन स्थानीय तहका सम्पूर्ण कार्यालयहरु, गाउँ/नगर कार्यापालिका मातहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । पाल्पामा ५२ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास रहेको छ । जसमा रामपुर नगरपालिकामा ३६, निस्दी गाउँपालिकामा ८७, पूर्वखोला गाउँपालिकामा ८४, माथागढी गाउँपालिकामा ७५, तिनाउ गाउँपालिकामा ६०, रम्भामा ७०, बगनासकालीमा ५१ र रैनादेवी छहरामा ५८ प्रतिशत मगरहरुको बासोबास रहेको छ । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसंगै विदेशमा रहेका मगरसँग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिको मातहतमा अहिले ७ वटै प्रदेशमा प्रदेश समितिहरु, ७७ जिल्लाहरु मध्ये ६८ जिल्लामा जिल्ला समिति, ७ सय ५३ स्थानीय तह मध्ये ५ सय ३० गाउँपालिका/नगरपालिकाहरुमा स्थानीय तहमा समितिहरु गठन भैसकेको छ । अहिले नेपाल मगर संघमा विभिन्न क्षेत्रगत, पेशागत र थरगत सस्थाहरु आवद्ध भई क्रियाशिल भईरहेका छन् । संघले मगरहरुलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर संघ त्यहाँ मगरात स्वायत्तता भन्ने सांगठनिक नारा बनाएर संगठनिक अभियान बनाएर अगाडि बढाएको छ । पछिल्लो समय विभिन्न कारणले लोपउन्मूख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update