Shittalpati
औचित्यहीन दिवस

विश्वभर नै मार्च १५ लाई उपभोक्ता दिवसको रुपमा मनाइँदै आएको छ । नेपालमा पनि विगतझैं यस वर्ष पनि मार्च १५ अर्थात् चैत्र २ गते यो दिवस मनाइयो । तर, वर्षको तीन सय ६५ दिन नै उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्नेमा नेपालमा भने वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर उपभोक्ता दिवसको ‘झारा’ टार्ने परिपाटी यसवर्ष पनि कायम रहयो । नेपालमा दर्जनबढी संघसंस्था उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय छन् तर उनीहरूको काम दिवस मनाउनेमा नै ज्यादा सक्रिय देखिन्छन् । विगतका वर्षहरूमा नेपाल सरकारले जे–जे गर्छु भनेर घोषणा गरेको थियो । ती कुनै पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।

बजारमा अराजकता, दण्डहीनता मौलिएको अवस्था छ । अहिले पनि उपभोक्तालाई बजारमा सामान किनेर घर फर्कदा म ठगिए की भन्ने लाग्छ । तरकारीमा उच्च विषादीको प्रयोग, दूधमा समस्या, पानीमा समस्या तेलमा समस्या, नुनदेखि सुनसम्म सबै चिजमा उपभोक्ताले समस्या नै समस्या भोग्दै आएका छन् । नेपाली उपभोक्ता दिन दुई गुणा रात चार गुणा ठगिदैँ गएको अवस्था छ । तर पनि बिडम्बना नेपालमा दीर्घकालीन सोच नहुनु, विशेष कार्ययोजना सहित बजार अनुगमन नहुनु, कैफियत देखिएकोलाई कारबाही नगर्ने, राम्रालाई पुरस्कृत गर्ने भन्ने नेपाल सरकारका कुनै पनि योजना नहुँदा ‘विश्व उपभोक्ता दिवस’ नारामा सीमित भइरहेको छ । यसो हुनु अत्यन्त दुःखको कुरा हो । विगतका वर्षहरूको मूल्याङ्कन गर्ने हो भने उपभोक्ता दिवसको दिनबाहेक अन्य कुनै पनि दिन उक्त विषय र नाराले स्थान पाउँदैन । सरकारी एकदिने कर्मकाण्डी दिवसले आम उपभोक्ता अधिकार संरक्षण र प्रवद्र्धन हुन सकेको छैन ।

साथै उपभोक्ता हित र अधिकार प्रति राज्य संवेदनशील हुन पनि सकेको छैन । केवल देखावटी नक्कल र झारा टार्ने प्रवृत्ति कायम रहेसम्म यस्ता दिवसहरू केवल नाम मात्रका हुने छन् । भ्रामक र झुठा विज्ञापन, कमजोर नियमन र कारवाहीबाट उपभोक्ताले विश्वास गर्ने ठाउँ रत्तिभर छैन । उपभोक्ता बजारमा हुने अखाद्य वस्तुको उत्पादन, बेचबिखन, भण्डारण, गुणस्तरहिन सामानहरूको बिगबिगी, उपभोक्ताको अनुहार हेरेर कायम मूल्य, विषादी र एन्टीवायोटिक प्रयोग गरिएका फलफूल तरकारी र माछामासु खान बाध्य छन् । दैनिक अत्यावश्यक उपभोग्यवस्तु ढुक्कका साथ प्रयोग गर्न सक्ने अवस्था छैन । यसर्थ अराजकता र दण्डहीनताको अन्त्यका लागि विधिको शासन र कानुनी राज्यको अनुभूति नदिलाउने हो भने उपभोक्ता अधिकार दिवस मनाउनुको कुनै औचित्य रहँदैन ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update