Shittalpati
रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा

पाल्पा, पवित्र धार्मिक तीर्थस्थल रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा पाल्पा र गुल्मीका साहित्यकार तथा श्रष्टाहरुले साहित्यकार डा.जगन्नाथ रेग्मीद्वारा सम्पादित ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा गुल्मीका अग्रज साहित्यकार शशि पन्थीले कालीगण्डकी र रूरूक्षेत्रको विकास र विस्तार एवं प्राचिन सम्पदा संरक्षणसँगै सांस्कृतिक जगेर्नाका लागि डा.रेग्मीको कृति महत्वपूर्ण रहेको बताए । विशिष्ट अतिथि जिल्ला समन्वय समिति गुल्मीको उपसभापति तुलसी श्रेष्ठले पवित्र धाम रूरू क्षेत्रलाई केन्द्र बनाएर कृतिको चर्चा गर्ने सु–अवसर प्रदान गरेको भन्दै पाल्पा साहित्य समाजलाई विशेष धन्यावाद दिइन् । उनले डा.जगन्नाथ रेग्मीले संस्कृति र सम्पदाको जर्गेना गर्ने विषयमा कृतिमार्फत उल्लेख गरेकोमा आभार प्रकट गर्दै अगामी दिन थप शसक्त रुपमा कलम चलाउन आग्रह गरिन् । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पा र गुल्मीको साहित्य क्षेत्रलाई एक ठाउँमा ल्याउने प्रयास समाजले गर्दै आएको बताए । उनले पाल्पामा सिमित साहित्यलाई बाहिरसम्म जागरण ल्याउने काममा आफुहरु लागेको धारणा व्यक्त गरे । कालीगण्डकी र रूरू क्षेत्र ऐतिहासिक र सांस्कृति रुपमा अब्बल रहेकाले साहित्यको माध्यमबाट तिनीहरुको संरक्षण र प्रवद्र्धन गर्न सबै साहित्यकारहरुलाई संरक्षक सिहंले आग्रह गरे । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समीक्षक मेघराज रिजालले, कृतिमा कालीगण्डकीको उत्पत्ति सहित गण्डकी महिमा, रूरू महिमा,बराह क्षेत्र धाम आदिको बर्णन गरिएको बताए । उनले पौराणिक कुराहरूको बर्तमानमा महत्व रहेको र आध्यात्मिक एवं इतिहाससँग सरोकार राख्नेहरूका लागि यो कृति अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरे ।

कार्यक्रममा इन्जिनियर झविन्द्र ज्ञवाली, जनप्रतिनिधि सीता ज्ञवाली, साधक दुर्गादत्त पौडेल, समाजसेवी दुर्गादत्त रेग्मी, ऋषीकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराई, पत्रकार चुरामणि तिमिल्सिना, त्रिभुवन मा.वि. अर्गलीका प्रधानाध्यापक नारायण नेपाल, समाजसेवी जीवन कसजु लगायतले कृतिको चर्चा गर्दै सफलताको शुभकाना दिएका थिए । कृति सम्पादक डा.जगन्नाथ रेग्मीले कालीगण्डकीको तीरमा आफ्नो कृतिको परिचर्चा भएकोमा गौरवान्वित भएको बताए । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले डा. जगन्नाथ रेग्मीद्वारा सम्पादित कृति सोध खोज सोंच र ओजपूर्ण रहेको बताए । उनले रेग्मी जस्ता थुप्रै साहित्यकार र श्रष्टाहरु जन्माउने काममा समाज स्थापनाकाल देखिनै लागेको धारणा व्यक्त गरे । सोही अवसरमा रूरू क्षेत्र र कालीगण्डकीको महिमा व्यापिकरणका लागि अहोरात्र समर्पित व्यक्तित्व देवेश्वर सरस्वतीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा आधा दर्जन वटुकहरू, आचार्य धनञ्जय त्रिपाठी र कवयित्री चन्द्रकला खनालद्वारा कविता वाचन समेत गरिएको थियो । समाजका सदस्य एवं समीक्षक कमल खत्रीको सञ्चालनमा कार्यक्रम
भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update