Shittalpati
मगर दिवसमा पाल्पाका स्थानीय तहमा सार्वजनिक विदा

पाल्पा, ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । मगर समुदायको बाहुल्यता रहेका यहाँ स्थानीय तहहरुले फागुन १५ गते दिवसको दिन सार्वजनिक विदा दिएका हुन् । यहाँका माथागढी गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकाहरुले सूचना जारी गर्दै विदाको घोषणा गरेका छन् । निस्दी गाउँपालिकाले १५ र १६ गते दुई दिन विदा दिएको सूचनामा उल्लेख छ ।
विदा घोषणा गरेका अन्य पालिकाले भने एक दिन दिवसका दिन मात्र सार्वजनिक विदा दिएका छन् । यहाँका स्थानीय तहले फागुन १५ गते आइतबारका दिन स्थानीय तहका सम्पूर्ण कार्यालयहरु, गाउँ÷नगर कार्यापालिका मातहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । राष्ट्रिय मगर दिवसको अवसरमा यहाँका विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहितका कार्यक्रमहरु हुने छन् । पछिल्लो समय विभिन्न कारणले लोपउन्मूख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रितिरिवाज रहनसहनबारे जानकारी दिलाउन जिल्लाका मगर समूह, संघ संस्थाले विभिन्न किसिमका कार्यक्रम गर्दै छन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि यहाँ मगर समुदाय विगतदेखि नै जुट्दै आएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update