Shittalpati
कथाकार शान्ता शाक्यको दुई कृति विमोचन

पाल्पा, पाल्पा साहित्य समाजद्वारा प्रकाशित कथाकार शान्ता शाक्यका दुई कथा कृति विमोचन भएका छन् । तानसेनमा एक औपचारिक कार्यक्रमका बीच शाक्यद्वारा लिखित कथा संग्रह ‘बादल फाटेपछि’ र ‘अपराजित योद्धा’को विमोचन गरिएको हो ।

पाल्पा साहित्य समाज पाल्पाको आयोजनामा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि तथा पत्रकार सेनानी मेघराज शर्माले उक्त कृतिको विमोचन गरेका हुन् । कृतिको विमोचन गर्दै पत्रकार शर्माले शाक्यका कथा कृतिले साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले प्राज्ञिक र साहित्यिक व्यक्तित्वको रूपमा स्थापित हुन भएकी पाल्पाली चेलीका यी कृति दस्तावेजको रूपमा अव्बल बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको उप प्राध्यापक अर्चना शाक्य र पाल्पा साहित्य समाजका सदस्य एवं प्रखर समीक्षक कमल खत्रीले कृतिको समिक्षा गरेका थिए । ‘अपराजित योद्धा’ कृतिको समीक्षा गर्दै समीक्षक खत्रीले कथाहरू सामाजिक समसामयिक एवं मनोविश्लेषणात्मक दृष्टिकोणले अव्बल रहेको बताए । उनले कथा संग्रहमा १६ वटा कथाहरू संग्रहित रहेको जानकारी दिए । कथा मनोवाद, निवन्धात्मक, विश्लेषणात्मक, सम्वादात्मक एवं पत्रात्मक शैलीमा लेखिएको समीक्षक खत्रीले बताए ।

त्यस्तै कथा संग्रह ‘बादल फाटेपछि’ को समीक्षा गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको उप प्राध्यापक शाक्यले कथाहरु नारी मनोविश्लेषणात्मक र व्यवहारिक घटनामा केन्द्रित रहेको बताईन् । यस संग्रह भित्र १५ वटा कथाहरू रहेका छन् । कार्यक्रममा समाजका संरक्षक एवं अग्रज साहित्यकार राजेन्द्रगोपाल सिंहले कथाकार शाक्यले कर्म काठमाडौंलाई गराएता पनि जन्मभूमि पाल्पालाई सम्झेर घर आँगनमै कृति विमोचन गरेकोमा लेखक शाक्यलाई धन्यवाद दिए । उनले शाक्य शिक्षा र साहित्यको क्षेत्रमा कलम चलाउदै सशक्त पाल्पाली नारीको रूपमा स्थापित हुन सफल भएकोमा पाल्पाली साहित्यकारहरुलाई गौरवान्वित बनाएको बताए । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले मनोसामाजिक यथार्थवादी कथाकारको रूपमा शाक्य प्रतिष्ठापित भएकोमा खुसी व्यक्त गरे । पाल्पामा हालसम्म ८ जना नारी स्रष्टाहरूले कथा कृति प्रकाशन गरिसकेको अवस्थामा शाक्यको जम्ल्याहा कथा कृतिले स्रष्टा र द्रष्टाहरूलाई साहित्यिक खुराक सहित अभिप्रेरणा प्रदान गर्नेमा अध्यक्ष रेग्मीले विश्वास व्यक्त गरे ।

समाजका सल्लाहकार चित्रवली राम सुवालले पाल्पा साहित्य समाजले हालसम्म डेढ दर्जन कृति प्रकाशित गरिसकेको अवस्थामा यी कृति थप दस्तावेज हुने भन्दै समाजले छविलाल नेपाल पाल्पाली पुरस्कार प्रदान गर्दै आएको र अक्षयकोष खडा गरेकाले स्रष्टा द्रष्टाहरूसँग समाजले सक्दो सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रममा पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई , तानसेन गुठीका अध्यक्ष सुशील प्रधान, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख तथा साहित्यकार टंक प्रसाद भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । लेखक शाक्यले जन्मभूमि पाल्पा तानसेन टक्सारमै आएर कृति बिमोचन गर्न पाउँदा आफु अत्यन्त उत्साहित भएको बताईन् । शाक्य सेवा निवृत सह–प्राध्यापक र समीक्षक समेत हुन् । सोही अवसरमा शाक्यले समाजले स्थापना गरेको छविलाल नेपाल पाल्पाली अक्षयकोषका लागि दस हजार प्रदान गरेकी छन् । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सचिव महेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update