Shittalpati
धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

कृष्ण पोखरेल

पाल्पा, धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत भएका छन् । धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार न्यौपाने र धवल सिर्जना पुरस्कारबाट श्रेष्ठ पुरस्कृत भएका हुन् ।

धवल पुस्तकालयले शनिबार एक औपचारिक कार्यक्रमका बिच उनीहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्राज्ञ बुद रानाले पुरस्कृत न्यौपाने र श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । धवल पुरस्कार २०७७ बाट वरिष्ठ साहित्यकार न्यौपाने र धवल सिर्जना पुरस्कार २०७७ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठलाई रानाले उक्त पुरस्कारबाट सम्मान गरे । पूर्वखोला ३, रिङनेरह निवासी साहित्यकार नीलकण्ठ न्यौपाने भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र अठार महापुराणका वाचक समेत हुन् ।

सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठ तानसेन ३ निवासी हुन् । श्रेष्ठले पाल्पाको ईतिहासमा कला संस्कृतिमा कलम चलाउदै आएका छन् । दुबै पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ । धवल पुस्तकालय पाल्पाले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभाहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरेको पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले बताए ।

कार्यक्रममा प्राध्यापक डा. हिरण्य ज्ञवालीले नीलकण्ठ न्यौपाने र निर्मल श्रेष्ठको छनोट साहित्य र अनुसन्धानकर्ताको सम्मान भएको बताए । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक भट्टराईले धवल पुरस्कार स्थापना र पाल्पामा बसेर राष्ट्रिय योगदान गरेका व्यक्तिलाई प्रदान गरेर धवलले ऐतिहासिक काम गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, मन गहिरे, मेघराज शर्मा, टंक पन्थ, केशव पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संयोजकत्वमा प्राध्यापक डा. हिरण्य ज्ञवाली र त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई रहेको सिफारिश समितिले पुरस्कारको लागि बरिष्ठ साहित्यकार न्यौपाने र लेखक श्रेष्ठको नाम छनौट गरेको थियो । धवल पुस्तकाल पाल्पाले अब प्रत्येक बर्ष प्रजातन्त्र दिवसको दिन धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ । वि.सं १९८३ सालमा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । पुस्तकालयका अध्यक्ष युवराज पौडेलको सभापतित्व, स्वागत उपाध्यक्ष केशव पौडेल, पुरस्कारको छनौट तथा धवलपुस्तकालयको अवस्थाको बारेमा सचिव टंक पन्त र कार्यक्रमको सञ्चालन पुस्तकालयका महासचिव राजेश कुमार अर्यालले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update