Shittalpati
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?

‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेष गरी यो १४ फेब्ररीका दिन दिवस मनाइने गरिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । भ्यालेन्टाइन डे का बारेमा सबैका आ–आफ्नै धारणा छन् । कसैले पश्चिमको संस्कृति भएकाले यसलाई मनाउन आवश्यक नभएको भन्छन् त कोही राम्रो पक्षलाई अनुसरण गरेर मनाउनुपर्ने बताउँछन् । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसबारे के भन्छन् शित्तलपाटीका पाठक ? उनीहरुको विचार जस्ताको त्यस्तै ।

१. यसलाई विकृति भनिहाल्न मिल्दैन । प्रणय दिवस विभिन्न रूपमा परम्परादेखि नै मनाइँदै आएतापनि समय र परिस्थितिअनुसार यो परिमार्जित हुँदै जानुपर्छ । माया गर्नेहरूका लागि हरेक दिन भ्यालेन्टाइन डे हुनुपर्छ । यसलाई मनाउनु त ठीकै छ । तर विकृति नै हुने गरी नभई आफ्नो संस्कृति पनि बचाउनेतर्फ ध्यान दिनुपर्छ । यो युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेर समूहका व्यक्तिले पनि नेपाली संस्कृति अनुसार व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्कन्छ । -पुष्करराज रेग्मी (नागरिककर्मी)

२. नेपाली संस्कृति र संस्कारमा यो पर्व विकृति नै हो । तर समयसापेक्ष रुपमा हेर्दा यसलाई मनाउनु हुन्न भन्ने होइन । यसलाई सहित तरिकाले मनाउन सकिए यसले सर्थकता लिन्छ । उतार–चढावको सम्बन्धलाई जोड्ने काम यसले गर्छ र यो केवल प्रेमी र प्रेमिकाको बीच मात्र हुँदैन । तर आजको पुस्ताले यसलाई केबल केटी र केटा बीचको मायाको दिवसको रूपमा लिन्छन् । यो दिनमा कुनै न कुनै केटीलाई प्रस्ताव राख्नुपर्छ वा घुम्न जानुपर्छ भन्ने धारणा गलत हो । -अरुण ज्ञवाली (मानवअधिकारकर्मी)

३. प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । एक हिसाबले अहिलेको पुस्तालाई त ठीकै लाग्ला । जायज चाहीँ होइन । यद्यपि यसलाई गहिराईमा गएर हेर्दा पछिल्लो समय यसले विकृतिको रुप लिएको छ । साँचो प्रेम गर्न नसक्दा दिवसकै दिन कयौं प्रेमी प्रेमिकाहरुले ज्यान समेत फालेका घटना छन् । हामी नेपाली हौं । आफ्नै मौलिक संस्कार र संस्कृति छन् । तसर्थ आफ्ना मौलिकताहरू जोगाउनुको सट्टा विदेशी उत्सव मनाउनु आवश्यकता भन्दा बढी विकृति हो । -चित्रवलीराम सुवाल (साहित्यकार)

४. भ्यालेन्टाइन डे अर्थात् यसलाई नेपालमा प्रणय दिवस भनेर मनाइन्छ । कतिपयले यसलाई विकृतिको रुपमा पनि लिने गरेका छन् । प्रेम भनेको ईश्वरको सबैभन्दा मिठो प्रसाद हो । यो संसार चल्नुमा पनि प्रेम र करुणाको ठूलो हात छ । यो समय प्रेमको खडेरी परेको समय पनि हो । प्रणय दिवसलाई मुख्य विपरीत लि·ीको प्रेमसँग मात्र जोडेर हेरिएकोले यो युवा पुस्तामा चर्चित छ । उमेर नपुगेका युवायुवतीले प्रेमको नाममा कतै गलत दिशातर्फ त गइरहेका छैनन्, यो भने अभिभावकले ख्याल गर्नुपर्ने कुरा हो । प्रेम दिवस हो भनेर युवापुस्ताहरू शारीरिक सम्पर्क पनि सजिलै स्वीकारिरहेका पनि छन् । त्यो भने गलत हो । प्रेम निशर्त र निस्वार्थ हुनुपर्छ । पवित्र हुनुपर्छ । यदि यस्तो प्रेम हुने हो भने प्रणय दिवस मनाउँदा कुनै फरक पर्दैन । प्रेम हरकोहीलाई आवश्यक कुरा हो । प्रेम युवाले मात्र होइन, जुनसुकै उमेरकाले पनि गर्न आवश्यक छ । संयमित र अनुशासित प्रेम आजको आवश्यकता हो । -जनक कार्की (साहित्यकार)

५. यो पश्चिमा संस्कृित हो । यो नेपालीहरुको मौलिक पर्व होइन । यसले समाजमा संस्कृति तथा आत्मियता भन्दा पनि विकृति फैलाएको छ । प्रेम आफैमा राम्रो शब्द भएपनि किसोर किशोरीमा यसले विकृति बढी ल्याएको पाइएको छ । -विष्णु खनाल (सञ्चारकर्मी)

६. भ्यालेन्टाइन डे मनाउनु भनेको विकृति हो । प्रेमिल जोडीलाई ३ सय ६५ दिन नै भ्यालेन्टाइन डे हुन्छ । यो विदेशी संस्कृति हो । यो एक दिन मात्र नभई हप्तौ दिन यो दिवस मनाउन लागेको देखिन्छ । यसले गर्दा आर्थिक सामाजिक क्षेत्रबाट पनि विकृति देखिएको छ । -सरस्वती सुवेदी (बैंकर)

७. माया प्रेम व्यक्त गर्नको लागि प्रणय दिवस कुर्नुपर्छ जस्तो मलाई लाग्दैन । प्रणय दिवस प्रेम गर्ने जोडीहरुमा मात्र व्यत्तित हुनु हुँदैन । जब हामीलाई नौ महिना कोखमा राखेर जन्म दिएकी सम्पूर्ण प्रेमिल आमाहरुप्रति पनि म यो दिवसमा नमन् गर्दछु । -खेमराज निरौला (प्राविधिक)

८. भ्यालेन्टाइन डे अति आवश्यकता पनि होइन र विकृति पनि होइन । आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै रम्न रमाउन पाइन्छ । -मुकु बञ्जाडे

९. कुनै पनि दिवस र चाडवाड आफैमा राम्रो र नराम्रो भन्ने हुँदैन त्यसलाई मनाउने प्रवृति र त्यसले समाजमा पार्ने असरको मूल्यांकन गर्नु जरुरी हुन्छ । भ्यालेन्टाइन डे लाई विकृति भनिहाल्न मिल्दैन । यसलाई सही तरिकाले मनाउन सक्नुपर्छ । यद्यपी पश्चिमी संस्कार अंगाल्दै जाँदा कतै हाम्रो संस्कार बिर्सिने त होइन ? र मुख्य कुरा माया प्रेम व्यक्त गर्नको लागि प्रणय दिवस कुर्नु पर्छ जस्तो लाग्दैन । यसलाई नेपाली संस्कृतिअनुसार व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्कन्छ । -भूमिका पाण्डे (विद्यार्थी)    

१०. माया गर्नेहरूका लागि हरेक दिन भ्यालेन्टाइन डे हुनुपर्छ । यसलाई मनाउनु त ठीकै छ । तर विकृति नै हुने गरी नभई आफ्नो संस्कृति पनि बचाउनेतर्फ ध्यान दिनुपर्छ । माया त जति बेला नि हुन सक्छ । माया व्यक्त गर्न कुनै दिनको आवश्यक पर्दैन वास्तवमा जस्को मन मुटु मिल्छ उनीहरुको मन मिल्छ । अझै अर्को कुरा उनीहरुले एकाअर्काको भावना बुझेका हुन्छन् भने त्यहाँ सधैं भ्यालेन्टाइन डे हुन्छ । एक दिन रमाएर के गर्नु अरु दिन रुन पर्छ भनी । वास्तवमा यो विकृति जस्तो लाग्छ । -मुना अधिकारी (विद्यार्थी)                                                                     

                                                                                               –प्रस्तुति : रामचन्द्र रायमाझी

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update