Shittalpati
परीक्षालाई ध्यान देऊ

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको आतंकले विश्वभरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । यसको असर नेपालमा पनि पर्न थालेको छ । कोरोनाको त्रासले शिक्षण क्षेत्रमा ठूलो त्रास फैलिएको छ । शैक्षिक सत्र २०७७ को सरकारी भर्ना अभियान पूर्णरूपमा प्रभावित हुने देखिएको छ । यतिबेला लाखौं विद्यार्थीको भविष्यसंँग जोडिएको एसइई परीक्षा समेत नजिकिएको छ । जताततै कोरोनाको त्रसास पैदा गरिएको छ, जसले गर्दा यही चैत ५ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी विद्यार्थीहरुको मनोबलमा समेत प्रभाव पार्ने देखिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेसम्म सबै प्रकारका परीक्षा सकेर बिदा दिन निर्देशन दिइसकेको छ ।

तर, विद्यालयदेखि विश्वविद्यालय तहसम्मको परीक्षामा सहभागी विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरको विषयमा भने सोचेको देखिदैन । हुन त स्वास्थ्य डेक्स राख्ने कुरो त गरिएको छ, तर त्यसलाई पर्याप्त मान्न सकिन्न । यस्तो विषम परिस्थितिमा परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने विषयमा कसैको पनि ध्यान गएको देखिदैन । यो अत्यन्तै दुखको कुरा हो । कोरोनाको त्रासका कारण देशको शिक्षा क्षेत्र अस्तव्यस्त हुने सम्भावना बढेको छ । त्रिविअन्तर्गतका क्याम्पसमा चैतको पहिलो साताबाट परीक्षा हुँदैछन् । त्यो परीक्षा लिने वा स्थगित गर्ने भन्ने विषयमा त्रिविले अझै पनि ठोस निर्णय गर्न सकेको छैन । नेपालको उच्च शिक्षासमेत अन्योलमा देखिएको छ । विद्यालयमा अभिभावक भेला, वार्षिक कार्यक्रम, पिकनिक लगायतका कुनै पनि भीडभाडजन्य कार्यक्रम नगर्न शिक्षा मन्त्रालयले सबै सरोकारवालालाई उर्दी जारी गरिरहेको छ ।

तर त्यसको प्राप्त पूर्वाधारको व्यवस्था भने गर्न सकेको छैन । करिब ५ लाख विद्यार्थी सहभागी हुने एसइईलाई कोरोना भाइरसले मनोवैज्ञानिकरूपमा पनि प्रभावित बनाउने अवस्था छ । सरकारले अहिलेको परिस्थितिमा एसइई परीक्षामा पर्न सक्ने असरबारे सूक्ष्म अध्ययन गरी परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update