Shittalpati
देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो

पाल्पा, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइएको छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आइतबार विधिपूर्वक पूजा आराधना गरी सरस्वती पूजा मनाइएको हो । विद्यालय तथा विद्यापीठहरुमा सरस्वतीको पूजा गरिएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । त्यसैले साना बालबालिकालाई अक्षरारम्भ समेत गराइएको छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ । विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाएका छन् । पाल्पामा पनि निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पूजा गरे । उनीहरुले विहानैबाट विद्यालय परिसर भित्र रहेका मन्दिरमा सरस्वतिको पुजाआराधना गरी मनाएका हुन् ।

सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वासका साथ स्कूलमै सरस्वतीको पुजा आराधना गरिएको पाल्पा प्यारागन बोडिङ्ग  स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । उनले सोही दिन नयाँ बालबालिकाहरुलाई अक्षरराम्भ समेत गराइएको बताए । विद्यालय नपठाइएका साना बालबालिकालाई यसै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । उक्त दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेका छन् । तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । यसका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update