Shittalpati
धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने

पाल्पा, धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ । धवल पुस्तकालय सञ्चालक समितिको आइतबार बसेको बैठकले धवल पुरस्कार सिफारिश समितिको निर्णयलाई अनुमोदन गरी धवल पुरस्कार २०७७ वरिष्ठ साहित्यकार न्यौपाने र धवल सिर्जना पुरस्कार २०७७ श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पूर्वखोला ३, रिङनेरह निवासी विद्वान् तथा वरिष्ठ साहित्यकार न्यौपाने भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र अठार महापुराणका वाचक समेत हुन् । सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठ तानसेन ३ निवासी हुन् । दुबै पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ । पुरस्कार आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन अर्पण गरिनेछ । तानसेन २ मेहल्धारामा अवस्थित धवल पुस्तकालय पाल्पाले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभाहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरेको पुस्तकालय सञ्चालक समितिका अध्यक्ष युवराज पौड्यालले बताए । यसैगरी राष्ट्र र राष्ट्रियताप्रतिको भाव, जीवनप्रतिको चेतना, पाठकहरूको आकर्षण, विधागत सुझ भएको मौलिक कृतिको मूल्यांकन गरी धवल सिर्जना पुरस्कार प्रदान गर्ने अध्यक्ष पौड्यालले जानकारी दिए ।

पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संयोजकत्वमा प्राध्यापक डा. हिरण्य ज्ञवाली र त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई रहेको सिफारिश समिति गठन गरेको थियो । धवल पुस्तकालयले अब प्रत्येक वर्ष धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ । वि.सं १९८३ सालमा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update