
रमेश विश्वकर्मा
गुल्मी, सोमबार स्वास्थ्य चौकीको हल भित्र इस्मा गाउँपालिकाको गाउँ सभा चलिरहेको थियो । जनप्रतिनिधि र केही कर्मचारीहरु गाउँ सभामा विधेयक र अर्धवार्षिक नीति तथा कार्यक्रमहरुको छलफल र समीक्षा मै व्यस्त थिए । त्यत्तिकैमा अति भो सरकार इस्मामा भ्रष्टाचार ¤ भन्ने आवाज हल भित्र पस्यो । हलभित्र सभामा व्यस्त केही जनप्रतिनिधिहरु बाहिर के भो भन्दै निस्किए । बाहिर एक हुल मानिस गाउँपालिकामा भएका अनियमितता र भ्रष्टाचारका विरुद्धमा लेखिएका प्लेकार्ड सहित नारा जुलुस गर्दै थिए ।
गाउँपालिकामा अनियमिता र भ्रष्टाचार मौलाउदै गए पछि नेपाली काँग्रेस इस्मा गाउँपालिकाले त्यसको विरोधमा नारा जुलुस गरेको थियो । काँग्रेसले अनियिमता र भ्रष्टाचारका बिच गाउँसभा गरेको जानकारी पाएपछि सोही समयमा नारा जुसलुसमा उत्रिएको हो । नेपाली काँग्रेसका जिल्ला सचिव भगतसिंह खड्काको नेतृत्वमा क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झविन्द्र अर्याल, इस्मा गाउँपालिकाका सभापति कृष्णप्रसाद रिजाल, वडाका सभापतिहरु र प्रतिनिधिमूलक कार्यकर्ताको उपस्थितिमा गाउँपालिकाको अनियमितताका विरुद्धमा काँग्रेसले आवाज उठाएको हो । जुलुसमा सहभागीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर इस्मा सरकार सदाचारी बन, अति भो सरकार–इस्मामा भ्रष्टाचार, लेन्थवर्कर एमालेको घरमा, इस्मा सरकार अदालतमा, इस्माली जनताको आवाज–स्थानीय सरकार नाजवाफ, इस्माली जनताको आदेश–अघि बढ काँग्रेस, छानविन समिति र लेखा समितिको प्रतिवेदन सार्वजानिक गर, इस्मा सरकार–खबरदार, भ्रष्टाचारमा कागती–दोषीमा भारती, न्यायिक समिति कहाँ छ ? अदालतमा गएको छ, लगायतका प्लेकार्डसहित जुलुस निकालेका थिए ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचारका गतिविधिहरु मैलाउँदै गएपछि बाध्य भएर विरोध गर्नु परेको नेपाली काँग्रेस इस्मा गाउँपालिकाका सभापति कृष्णप्रसाद रिजालले बताए । उनले गत वर्ष कूल २२ लाख ५० हजार रुपैयाँको कागती खेती प्रर्वद्धन कार्यक्रममा १२ लाख ५० हजार रुपैयाँ गाउँपालिकाका कर्मचारीले अनियमितता गरेको भनेर जनप्रतिनिधिहरुलाई जनप्रतिनिधिले नै उम्काएको आरोप लगाए । त्यस्तै नेकपा एमालेका स्थानीय नेता मानबहादुर बस्नेतको घरमा लेन्थवर्करलाई काम गर्न गाउँपालिकाले पठाएको विषयमा पनि काँग्रेस इस्माले प्रश्न उठाएको छ । अनियमितताका विषयमा काँग्रेस इस्मा गाउँपालिकाले प्रेस विज्ञप्ती निकाले पछि गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले गुल्मी जिल्ला अदालतमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’का सभापति झविन्द्र अर्यालविरुद्ध मुद्दा दायर गरेको विषय र गाउँपालिकाले आफु उम्कन प्रेस विज्ञप्ती जारी गरेको विषयमा आफुहरुले विरोध प्रदर्शन गरेको सभापति रिजालले बताए ।
यसअघि पनि नेपाली काँग्रेस इस्मा गाउँपालिकाले पटक–पटक गाउँपालिकालाई ध्यानकर्षण गराएको जनाइएको छ । इस्मा गाउँपालिका अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप सभापति रिजालको छ । त्यस्तै गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झविन्द्र अर्यालले आफुहरुले विरोध गर्नुको कारण सरकारी तलब भत्ता बुझ्ने लेन्थवर्करहरुलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले घरमा काम लगाउनु रहेको बताए । इस्मा स्थानीय सरकारले नियोजित रुपमा विज्ञप्ती निकालेर आफुहरु उम्कन खोजेको उनको आरोप रहेको छ । गाउँपालिकाले अनियमितता र भ्रष्टाचार लुकाउनको लागि अदालतमा मुद्दा दायर गर्ने समेत काम भएको अर्यालले बताए ।
विरोध कार्यक्रम पछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले कागती खेती प्रवद्र्धन कार्यक्रमको सम्बन्धमा छानविन आयोगको प्रतिवेदनमा फेरिस्त भएको दावी गरे । प्रतिवेदन अनुसार कर्मचारीलाई बर्खास्त गरेको र सबै कुरा प्रतिवेदनमा उल्लेख भएको भन्दै गाउँपालिका अध्यक्ष बिष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेर गएको तर त्यसको जवाफ नआएको बताए । गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मानबहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् । उनले न्यायिक समितिको कार्यसम्पादन हेर्न आग्रह गर्दै न्याय खोज्नको लागि आफुलाई सार्वजानिक ठाउँमा भ्रष्टाचारी भन्नेहरु विरुद्ध अदालत पुगेको जानकारी दिइन् ।