Shittalpati
मिर्गौला दिवस र सार्थकता

विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । यस वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो । संसारभरी मिर्गौलाको रोगबाट पीडित व्यक्तिहरूको संख्या बढिरहेको छ । यस रोगका सम्बन्धमा मानिसहरूमा जागरुकता फैलाउनका लागि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाइन्छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार औषतमा १० प्रतिशत नागरिकलाई मिर्गौलाको समस्या देखिएको छ ।
त्यसलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मिर्गाैलाको समस्या रहेको छ । नेपालका विभिन्न अस्पतालमा अहिले पनि ४५ सय भन्दा धेरै व्यक्ति डायलासिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको पाइन्छ । मानव शरीरमा दुईवटा मिर्गौला हुन्छन् । जसको काम शरीरभित्र उत्पन्न हुने विभिन्न विकार पदार्थलाई पिसाबमार्फत बाहिर फाल्ने, शरीरमा आयोडिन, क्याल्सियम, सोडियमको मात्रालाई सन्तुलन गर्ने, शरीरमा हेमोग्लोबिनको मात्रालाई कायम राख्नका लागि इरेथ्रोप्रोटिन हर्मोनका साथै अरु थुप्रै हर्मोन उत्पादन गर्ने काम पनि मिर्गौलाले गर्दछ । मिर्गौलाले काम गर्न छाडेको अन्तिम अवस्थामा मात्र रोग पहिचान हुने भएकाले समय समयमा मिर्गौला जाँच गराउनुपर्छ । मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो ।

नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ । सरकारले निःशुल्क डायलसिस सेवा दिने निर्णय गरे बमोजिम देशका विभिन्न सरकारी तथा निजी अस्पतालमा उक्त सेवा उपलब्ध छ । तर, डायलसिस सेवाको रकम समयमा निकासा नहुँदा सेवा प्रवाह गर्नै गाह्रो भएको छ । मिर्गौला रोगीलाई डायलसिस सेवा दिने स्वास्थ्य संस्थालाई सरकारले बेलैमा रकम दिन नसक्दा सेवा प्रभावित भइरहेको छ । डायलसिसका लागि आवश्यक सामाग्री खरिद गर्न पनि गाह्रो भएको छ । तत्कालका लागि निजी अस्पतालले निःशुल्क डायलसिस सेवा दिनै मुस्किल परिरहेको खबरहरू सार्वजानिक भइरहेका छन् । यद्यपि, यस्ता रोग लाग्न नदिन सरकारी तवरबाट खोज, अनुसन्धान वैकल्पिक उपाय खोजिनुपर्ने देखिन्छ । त्यसो हुन सके मात्र विश्व मिर्गौला दिवस मनाउनुको सार्थकता रहन सक्छ । अन्यथा दिवस औपचारिकतामा सिमित रहने छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update