Shittalpati
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो

अनिल खत्री
गुल्मी, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका हुन् ।

२०७० सालमा सुरु भएको खानेपानी आयोजना २०७८ सालमा सम्पन्न भएको हो । आयोजना (गाउँपालिकाको बजेट बाहेक) ३ करोड ३० लाख ३७ हजार ४ सय ३९ रुपैयाँमा सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुसार नेपाल सरकारको २ करोड ७१ लाख ४ हजार ५ रुपैयाँ र जनसहभागिताबाट ५९ लाख ३३ हजार ४ सय ३४ रुपैयाँ गरी आयोजना सम्पन्न गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज उपाध्ययले बताए । मस्यारी बिरौटा दोमइ श्रोतबाट पानीलाई सेडिमेन्ट गरी फिल्टर गरिएको र त्यसलाई १ लाख लिटर क्षमताको २ वटा ट्याड्ढीमा जम्मा गरिएको उनको बताए । आयोजना क्षेत्रका ३ सय ५९ घर धुरिहरुको करिव १ हजार ७ सय ९५ जनसंख्यालाई पानी वितरण गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मी, रुरुक्षेत्र गाउँपालिका र स्थानीय उपभोक्ताहरुको सहभागिता एवं उपभोक्ता समिति केन्द्र र जिल्ला स्तरबाट जनप्रतिनिधि तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद पुर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको विशेष सहयोगमा आयोजना सम्पन्न भएको उपाध्यायले बताए । खानेपानी आयोजनाको उद्घाटन गर्दै पुर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस खुसियालीमा सहभागी हुन पाउँदा आफू खुसी भएको बताए । ज्ञवालीले २० वर्ष पहिले यस क्षेत्रका जनताले भोगेको पानीको चरम समस्यालाई सम्झिए । यस क्षेत्रमा पानीको चरम समस्या अब भने समधान भएकाले नागरिकहरुमा खुसीयाली छाएको आयोजनाका अध्यक्ष देवनारायण ज्ञवालीले बताए । उनले आयोजनाको दिगोपना उपभोक्ता समितिको कार्यशिलतामा भरपर्ने बताए । –अनिल खत्रीबाट

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update