Shittalpati
बगनासकालीका वडामा कोरोना सम्बन्धी सचेतना कार्यक्रम

पाल्पा(बगनासकाली),जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु सुरु गरेको छ । विश्‍वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पूर्व सतर्कतता अपनाउन गाउँपालिका भित्रका सबै वडाहरुमा गाउँपालिकाले सचेतना कार्यक्रमलाई अगाडि बढाएको हो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले पूर्व सतर्कतता अपनाउनका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयसेवीहरुकाहरुमार्फत टोल–टोलमा सचेतना कार्यक्रमलाई अगाडि बढाएको छ । गाउँपालिकामा र्यापिट रेस्पोन्स (आर आर टिम) गठन गरी सबै वडाहरुमा सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीहरुबाट महिला स्वयमसेवीकाहरुलाई प्रशिक्षण दिई उनीहरुमार्फत समुदायमा कोरोनाका विषयमा सचेतना जगाइने छ । विहिबार वडा २ का महिला स्वयसेवीकाहरुलाई कोरोनाका विषयमा प्रशिक्षण दिइएको
छ । उनीहरुलाई कोरोना भाइरसको परिचय, रोगका लक्षण तथा रोकथामका उपाय, फैली हालेमा अपनाउनुपर्ने सर्तकता लगायतका विषयमा प्रशिक्षण दिइएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए । गाउँपालिकाले बुधबार गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्यचौकीका प्रमुख तथा कर्मचारीहरुसँग कोरोना भाइरसका विषयमा व्यापक छलफल समेत गरेको थियो । छलफलमा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आमनागरिकहरुको स्वस्थ जीवनयापन गर्ने वातावरण सिर्जना गर्ने दायित्य स्थानीय सरकारको रहेकाले त्यसका लागि तत्कालै कोरोना भाइरसका विषयमा टोल टोलमा पुगेर सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका थिए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले रोग लाग्नुपूर्व सचेतना अपनाउन सके मात्र रोगको जोखिमबाट बच्न सकिने भन्दै सचेतनाका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिईन् । प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले कोरोना भाईरसले अन्तर्राष्ट्रिय आपत्कालीन अवस्था सिर्जना गरेकाले सबै सचेत रहनुपर्ने बताए । छलफलमा कोरोना पशुपक्षीबाट मानिसमा सर्ने रोग भएकाले त्यसका विषयमा पशुविकास शाखाका प्रमुख गणेश नेपालीले जानकारी गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update