Shittalpati
कोरोना र भ्रम, त्रास

कोरोना भाईरस महामारीका रुपमा विश्वप्यापी बन्न सक्ने संभावना बढेपछि नेपालमा पनि यसको त्रास पैदा भएको छ । खासगरी, पशुपक्षीमा संक्रमण हुने कोरोनाले पछिल्लो पटक मानिसलाई शिकार बनाइरहेको छ । एन्टिबायोटिकले असर नगर्ने यो भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको बताइएको छ । उच्च जोखिम हुँदैमा आत्तिनुपर्ने, त्रसित भइहाल्नुपर्ने भन्ने होइन । संक्रमण फैलिइहाल्यो भने कम जोखिम होस् भन्नाका लागि भेट्दा हात नमिलाई नमस्कार गर्ने, ठूलो पार्टी, भोजभतेर, मेला–उत्सव नगर्न चिकित्सकहरुले पनि सुझाव दिइरहेका छन् । कोरोनाले पार्ने बहुआयामिक प्रभावको त पछि नै लेखाजोखा होला, अहिले भने सचेतनामूलक कार्यक्रमका साथ संक्रमणबाट जोगिनु नै एकमात्र विकल्प हो । घरबाट निस्कदा माक्स, पञ्जा लगाउने, नियमित सरसफाइमा ध्यान दिने, सकेसम्म कम मानिससँग भेटघाट गर्ने, सार्वजनिक स्थल, सवारीसाधन, फिल्म हल तथा सभा–सम्मेलनमा सहभागी हुँदा विशेष ध्यान दिनुपर्छ ।

कोरोना कहिले नियन्त्रणमा आउँछ भन्ने यकिन नहुँदा जोखिम बढेको हो । बेलैमा सजग भए नेपालले यसपटकको महामारीबाट पनि छुट्कारा पाउन सक्ने देखिन्छ । देशको अर्थतन्त्रमा असर परे पनि नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भने फैलिएको छैन । नेपालमा कोरोनाको संक्रमण नदेखिनु आफैमा सुखद पक्ष हो । तर दुःख र चिन्ताको कुरा, कोरोना संक्रमणभन्दा धेरै डर, त्रास र भ्रम कोरोनाकै नाममा फैलिएको छ । नागरिकलाई सचेत र सजग बनाउने नाममा सरकारी निकायहरु नै जथाभाबी सूचना र निर्देशन दिएर डर, त्रास र भ्रम फैलाउँदै छन् । शिक्षा मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिँदै कोरोनाको संक्रमणबाट बच्न शिक्षक र विद्यार्थीबीच निरन्तर छलफल गर्नु र गराउनु भनेको छ ।

साथै सकेसम्म भीडभाड भएको ठाउँमा नजानु पनि भनेको छ । त्यसो भनिरहँदा कोरोनाको संक्रमणबाट बच्न शिक्षक र विद्यार्थीबीच कक्षा कोठामा हुने छलफललाई भीड मान्ने कि नमान्ने ? कक्षाकोठामा छलफल गर पनि भन्ने, भीडभाडमा नजाऊ पनि भन्ने ? शिक्षक र विद्यार्थीले यस्ता भ्रमपूर्ण निर्देशनले आम नागरिकमा एक किसिमको त्रास र भ्रम पैदा गराएको छ ।

त्यति मात्र होइन संक्रमणबाट बच्न केही डाक्टरहरु माक्सको प्रयोग गर्न सुझाव दिन्छन् भने केही डाक्टरहरु बिरामी र उसलाई रेखदेख गर्नेले मात्र मास्क लगाए पुग्छ, अरुले लगाउन पर्दैन, भन्ने जस्ता सुझावहरुले गर्दा आमनागरिक अन्यौलमा रहेका छन् । यस्ता सूचनाले नागरिकलाई भ्रमित र त्रसित बनाइरहेको छ । यतिबेला सहि सूचना र निर्देशनको आवश्यक परेको छ । तसर्थ आम नागरिकमा सबै तहबाट सत्य तथ्य रुपमा सूचना प्रवाह गरी कोरानाको अनावश्यक भ्रम र त्रास चिर्न सबैले आ–आफ्ना ठाउँबाट पहल गरौं ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update