
रामचन्द्र रायमाझी
पाल्पा, गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् । घरदैलोमा पुगेर स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको स्थानीय सरकारहरु बताउँछन् । पालिकाका केन्द्रबाट हुँदै आएका सेवाहरुलाई पाल्पाको पूर्वखोला गाउँपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकाले घर–टोलमै पुगेर एकिकृत घुम्ती शिविरबाट आफ्ना सेवाहरुलाई प्रवाह गर्दै आएका हुन् ।
जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले घर टोलमा पुगेर एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको छ । उसले शिविरमार्फत व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिला हिंसा न्यूनिकरण अभियान, अपाङ्ग परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भइपरी आएका नागरिकका समस्याहरु समधान गर्दै आएको छ । जनतालाई गाउँघरमै पुगेर सहज र छिटो सेवा दिने गरी गाउँपालिका लागेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । उनले कोभिड १९ को सक्रमणसँगै जनतालाई पालिकाको केन्द्रसम्म पुग्न समेत कठिन भइरहेको समयमा पालिकाले प्रदान गर्ने सबै किसिमका सेवा सुविधा सहित वडा वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरिएको बताए । उनले भने ‘जनता केन्द्रमा होइन कर्मचारी नै जनताको घरदैलोमा पुग्नुपर्छ भन्ने मान्यता गाउँपालिकाको रहेको छ ।’ सेवा प्रवाहलाई थप जनमैत्री र गुणस्तरी बनाउन सेवालाई जनताको घरदैलोमा पुर्याउने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।
यस्तै गुल्मीको रेसुङ्गा नगर सरकारले पनि वडा, टोलमा पुगेर सेवा दिइरहेको छ । उसले ‘रेसुङ्गा नगरपालिकाको नागरिक मैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ भन्ने नाराका साथ एकिकृत घुम्ति शिविर मार्फत जनताको घर टोलमा पुगेर सेवा दिइरहेको छ । सरकारी सेवाका लागि नगरपालिका नै जानुपर्ने बाध्यताबाट राहत मिलेको भन्दै स्थानीय उत्साहित भएका छन् । स्थानीय ७० वर्षीया मीना क्षेत्रीले भनिन्, ‘यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घर आगनमै आएको महशुस भएको छ ।’ उनी थप्छिन् ‘उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहितभएकी छु ।’
शिविरमा स्वास्थ्य जाँच तथा औषधी उपचार, कोभिड खोप वितरण, आँखा जाँच, सामाजिक सुरक्षा सेवा अन्तर्गत जेष्ठ नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र नविकरण तथा वितरण, कृषि विकासतर्फ माटो परीक्षण, बीउ विजन वितरण जस्ता सेवाहरु दिइएको नगरपालिकाले जनाएको छ । नागरिकले घर आगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।