Shittalpati
होली पर्वको शुभकामना

विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली हामी माझ आइपुगेको छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई होली पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईन्छ । यस दिनलाई राष्ट्रिय पर्वको पनि लिइन्छ । आपसी सद्भाव, मेलमिलाप र खुसी साटासाट गरी आज फागुपूर्णिमा अर्थात् रङहरुको पर्व होली देशका पहाडी जिल्लाहरुमा धुमधामसित मनाइदैछ । हरेक वर्ष रंगहरुको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाई बीचमा एक आपसमा विभिन्न रंगहरु दलेर खुसियाली साटासाट गर्ने गरिन्छ । तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइन्छ । होलीमा कसैको इच्छा विपरीत रंङ छ्याप्ने, लोला हान्ने, फोहोर पानीमा मोबिल लगायत वस्तु राखेर बाटोमा हिँड्नेलाई छ्पाप्ने जस्ता अमर्यादित गतिविधि गर्नेलाई कारवाही हुनेछ ।

थरी–थरीका रङ दलेर एक आपसमा खुसीसाथ मनाईने होली पर्वमा जथाभावी नहोस् र कसैले दुःख नपाउन् भनेर स्थानीय प्रशासनले पनि कडा आचारसंहिता जारी गरेको छ । जथाभावी लोला नहान्न, हिड्डुल गरिरहेकालाई फोहोर पानी नछेप्न र अमर्यादित गतिविधि नगर्न स्थानीय प्रशासनले सूचना दिने समेत गरेको छ । जसले होली पर्वलाई उल्लासपूर्ण बनाउन सहयोग पु¥याउँछ । होली सुरु हुनुभन्दा हप्ता दिन पहिलेदेखि नै बाटोमा हिँड्ने किशोरीहरुलाई लक्षित गरी फोहोर पानी हान्ने प्रवृत्ति छ । यस्तो परम्पराले संस्कृतिको जगेर्ना नभई बदनामी मात्र गर्दछ । देश भित्र वसोवास गर्ने अधिकांश समुदायको साँस्कृतिक वर्षका रुपमा रहेको होलीलाई मनोरञ्जनका रुपमा मात्र मनाउँदा विकृतपूर्ण बन्दै गएको छ । यसका लागि युवावर्ग सचेत हुनु आवश्यक छ ।

जहाँ, जसरी मनाउने गरे पनि आखिरमा यसपर्वको उद्देश्य एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, खुसीयाली बाँड्नु नै हो । यस्ता पर्वले मानव जीवनमा सौभाग्यलाई आमन्त्रित गर्दछन् । जुन वसन्त ऋतुको आगमनसँगै हर्षपूर्वक स्वागत गरिन्छ । तर मनाउने क्रममा देखिएका साँस्कृतिक मूल्य, मान्यता विपरितका व्यवहारले केही खल्लो हुने गरेको छ । विकृतपूर्ण व्यवहारलाई नियन्त्रण गर्न समाजका सबै सदस्यदेखि स्थानीय प्रशासनले पनि विशेष जिम्मेवार हुनु आवश्यक छ । सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना  ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update