Shittalpati
चिसोबाट बचौं

देशभर चिसो बढेको छ । मंसिरको दोस्रो हप्ता आइपुग्दा चिसो अत्याधिक रुपमा बढ्दै गएको छ । अझ बढी तराई क्षेत्रमा चियो बढेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् । जाडोमा खासगरी हातखुट्टा, अनुहार, छाला फुट्ने, फुस्रो हुने हुन्छ । यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ । जाडो मौसम सुक्खा हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

झोलपदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ । भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन् । चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन । चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ । चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । यस्तै सुप, दाल, खिचडी र रेसादार साग–सब्जी पर्याप्त मात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ । जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ । श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । त्यसैले रोग लाग्नु भन्दा रोग लाग्नै नदिनका लागि चिसोबाट बच्नुनै उत्तम उपाय हो । सरकार जनताको अभिभावक भएकाले पनि चिसोबाट जनतालाई बचाउने वातावरण सिर्जना गरिदिनु पर्दछ । हुन त सरकारले चिसोका कारण मृत्यु हुने मानिसको संख्या बढ्न थालेपछि मात्रै चासो देखाउने गर्दछ । तर यसो गर्नु दुखद् हो । सरकारले चिसो मौसमभन्दा पहिला नै तयारी गर्नु बुद्धिमानी कार्य हुनेछ । यसका लागि सरकार र जनता स्वयं सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update