Shittalpati
सन्दर्भ : नारी दिवस,  आज म रोएँ  !

विहान उठ्नासाथ मनमा एक प्रकारको खुसी छायो । मुखबाट अन्यायसै आवाज निस्कियो आहा ¤ आज त नारी दिवस । सधैं झैं उही समयमा उठे । उही दैनिकी पूरा गरें । म मेरो दैनिकीदेखि खुसी छु । मेरो जस्तै दैनिकी धेरै महिलाहरुको देख्दै आएकी छु । यही र यस्तै दैनिकीमा खुसी हुने संस्कार मेरो परिवार र समाजले मलाई निःशुल्क उपाहारको रुपमा दिएको छ । तर आज त नारी दिवस नारीको महान चाड । अरु चाडमा झैं विशेष परिकार पकाउँछु भन्ने हिम्मत थिएन मसँग । नारी भएकै कारणले हरचाडमा दक्षिणा पाउँथे । नारी भएकै कारणले महिनावारीमा एक्लै सुत्थे । नारी भएकै कारणले भान्सालाई कार्यथलो बनाएकी थिएँ । नारी भएकै कारणले अन्यायमा नबोल्न, ठूलो स्वरले नबोल्न संस्कारमा पारेकी थिएँ ।

नारी भएकै कारणले घरलाई माइती बनाएकी थिएँ । नारी भएकै कारणले मेरो थर मेरो बुवाको जस्तो छ तर मेरो जस्तो थर मेरो छोराछोरीको छैन । म आफूलाई एक सामाजिक नारी बनाउने हरतवरले कोशिसमा नारी सम्बन्धी लेख, रचना पढ्ने मात्र होइन । अथ्र्याउने र विश्लेषण गर्ने प्रयाससम्म गर्छु । प्रकृतिले दिएको भेद मात्र होइन समाज संस्कारले दिएको विभेद पनि महशुस गर्छु । नारीको गुण र शक्ति पनि अदभूत मान्छु अनि नारीको अबोधपना पनि । आज त नारी दिवस अनि हाम्रो दिवश । मेरो अपेक्षा अलि ठूलो भयो क्यारे । घरमा रहनुभएका नागरिक पुरुषले शुभकामना दिनुभएन भनि म दुखेजस्तो भयो । विद्यालय र समाजमाभएका विद्वानले पनि शुभकामना दिनुभएन । मेरो लागि कुनै उपाहार त छोडौं नौलो नास्ता समेत पाकेन । कतै कुनै कार्यक्रममा गइएन या भने बोलाइएन ।

आज नारी दिवस मेरो हजुरआमा भन्दा पनि जेठो हो । सायद उहाँले नारी दिवस शब्द नै सुन्नु भएन होला । मेरो मुमाले रेडियोमा नाम समेत सुन्नुभयो । मेरो यसरी बित्दैछ सायद मेरो नातीनीले यो नारी दिवसको औचित्य बुझ्छे होला । एक सय १० वर्ष अगाडि अमेरिकाबाट हिँडेको यो दिवस अब त नेपालमा आइपुग्छ कि ।

आखिर यो नारी दिवस कसका लागि हो । ज्यूदै देवी मानेर पूजा गर्ने कुमारीका लागि ? राष्ट्रपति, न्यायधिश, सभामुख, मन्त्रीजस्ता सम्मानित पदका जिम्मेवारी निभाउने नारीका लागि ? विश्वका ठूला प्रतिष्ठित संस्थाका प्रमुख भएर काम गर्ने सफल प्रतिभावान नेपाली नारीका लागि ? वा गाउँ–गाउँ उम्मेद्वार उठेका समाजसेवी नारीका लागि ? जब विश्वमा नारी दिवस धुमधामले मनाइन्थ्यो मेरो देशमा सती प्रथा थियो । यो नारी दिवस कसका लागि ? छाउगोठमा बलात्कृत हुने नारीका लागि ? दाइजोको कारणले हस्पिटलमा छट्पटिएका नारीका लागि ? बोक्सीको कारण गाउँ छोड्न बाध्य गराइएका नारीका लागि ? वृद्धा आश्रममा मृत्यु कुरिरहेका नारीका लागि ? डोल्पाको हिउँको पखेरोमा भोकै बसेका, रक्सीको मातले पिटाइ खाएका, २० वर्षे जवानीमा विधुवा भएका, देउकी, झुमा, घुम्टो, कम्लरी जस्ता कुप्रर्थाले झेलिएका नारीका लागि आखिर कस्को लागि ? साँझ परिसक्यो, बाँकी ३६४ दिनको यहि दैनिकीमा खुसी हुने यो नारी आज किन गह्रो मन गराएकी होली मसँग फरक पन आएन । मसँग निद्रा पनि आएन । म भित्रको नारीत्वले तछाँड, मछाँड गर्दै प्रश्न तेस्र्राइरह्यो ।

मैले डायरी निकाले । मेरो पागलपनलाई शब्दमा समाले । थुप्रै प्रश्नहरु छन् । तर उत्तर छैन । सायद उत्तर नै छैन । आँसुलाई मनमा राख्न सकिन मेरो महत्वकाँक्षी नयनहुँदै बग्न दिएँ । सायद नारी दिवसको औचित्य सबैका लागि होस भन्न रोंएँ । खै किन किन आज म रोएँ । आज म रोएँ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update