Shittalpati
नारी दिवसको सार्थकता

नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । जसरी चार्ज सकिएको ब्याट्रीलाई पुनः रिचार्ज गर्नुपर्छ त्यसैगरी लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरियोस् भन्ने चेतना जागृत गर्ने काम रिचार्ज गर्न बर्सेनि देशभर नारी दिवस मनाइन्छ । यसवर्ष दिवस पनि आज मनाइँदैछ । वर्षेनी नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गर्दा महिला बिनाको संसार निरास जस्तै हुन्छ ।

त्यसैले महिलाको प्रगति भनेको त्यो घर, समाज र राष्ट्रको प्रगति हो । भनिन्छ, नारी गहना हुन्, नारी देवी हुन् । नारीको पुजा गर्नुपर्छ । नारी महान हुन्छन् नारी समान हुन् तर यो भनाइमा मात्र सीमित छ, जो व्यवहारमा लागु छैन । नारीको हकहितका लागि थुप्रै संघसंस्थाले कार्यक्रम पनि नगरेका होइन तर यस्ता कार्यक्रम दुर्गममा भन्दा सहरमा मात्र केन्द्रित हुन पुगे । ग्रामीण तथा दुर्गमका महिलालाई आफ्ना बारेमा कहिल्यै चेतना भएन ? दुर्गम क्षेत्रका महिलाहरुलाई नारी दिवस के हो ? नारी दिवस के का लागि मनाइन्छ भन्ने समेत थाहा छैन ।

नारी दिवस के दिवसमा मात्र सीमित हुने हो ? दिनानुदिन महिला हिंसा बढ्दै गर्दा नारीले हेरेर मात्र बस्ने हो ? नारी दिवस के का लागि, हामी नारी के का लागि भन्ने प्रश्न खडा गरिएको छ । देशभरी नारी दिवस मनाइरहँदा ग्रामीण क्षेत्र तथा श्रमिक महिलाहरुलाई भने आज नारी दिवस हो भन्ने समेत थाहा छैन । जसले घरबाहिर आदर्शको कुरा गर्दछ, उसले घरभित्र हिंसा गरिरहेको हुन्छ । जुन पुरुषको भाषण भाषणमा मात्र सीमित हुन्छ, व्यवहारमा हुँदैन । त्यस्तै महिला नेतृ पनि भाषणमा मात्र सीमित हुन्छन् । नेपाल आखिर पुरुष प्रधान देश हो । नारी र पुरुष एक रथका दुई पाँग्रा हुन् भने पनि दुई पाँग्रालाई समान रुपमा अगाडि बढाउन सकिएको छैन ।

आखिर पुरुष पुरुष नै र महिला महिला नै हुन्छन् । नेपाली नारी हरेक कोणबाट पीडित छन् । चाहे त्यो घरभित्र हुने हिंसा होस् अथवा समाजबाट हुने हिंसा होस् । आखिर नारी दिवस मनाएर मात्र नारीको पहिचान र अधिकार प्राप्त हुन सक्दैन । तसर्थ ग्रामीण भेगका नारीमा पनि उनीहरुको हक अधिकारका लागि सचेत गराउन सके मात्र दिवसले सार्थकता पाउन सक्छ, अन्यथा दिवस औपचारिकतामा मात्रै सिमित रहन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update