
कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिका भित्रका नव उद्यमी महिलाहरुलाई बिना धितो १५ लाख रुपैँया ऋण सहयोग पाउने भएका छन् । तानसेन नगरपालिकाको सिफारिसमा नव उद्यमी महिलाहरु लाई मुक्तिनाथ विकास बैक पाल्पा शाखाले १५ लाख रुपैँया बिना धितो ऋण प्रदान गर्ने छ । तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाही र मुक्तिनाथ विकास बैंकका तानसेन शाखा प्रवन्धक टेकराज ज्ञवाली बिच ऋण आदान–प्रदान सम्झौतामा हस्ताक्षर भएको छ ।
तानसेन नगरपालिका भित्रका १४ वटै वडाहरुकाबाट आएको ऋण सिफारिसको आधारमा तानसेन नगरपालिकाले पुन बैंकलाई ऋणको लागी सिफारिस गर्ने छ । नगर भित्र केही उद्यम, काम गर्ने सोच र ईच्छा भएका व्यक्तिहरुलाई पुजीको अभाव नहुने, आवश्यकता अनुसार नगरपालिकाले युवा उद्यमीको लागी ऋण सिफारिस गर्ने नगर प्रमुख अशोक कुमार शाहीले बताए । कृषि तथा पशुपालन तथा पर्यटन क्षेत्रमा नयाँ उद्यमी उत्पादन गरी गाउँ ठाउँमा रोजगारी श्रृजना गर्ने गरी बैंक सँग सहकार्य गरिएको नगर प्रमुख शाहीले बताए । नगरभित्र महिला उद्यमी बढाउने, महिला उद्यमी मार्फत रोजगारी बढाउने योजनाका साथ बैंक सँग सहकार्य गरिएको नगर प्रमुख शाहीले बताए । बैंकले नगरपालिकाको सिफारिसमा ४ दशमलव ६४ प्रतिशत व्याज दरमा बिना धितो ५० हजार देखी १५ लाख रुपैँया सम्म र धितो राखेर धितोको मुल्याङ्कन अनुसार ऋण प्रदान गरिने बैंकका शाखा प्रवन्धक ज्ञवालीले बताए । बिना धितोको लागी महिला युवा उद्यमीहरुलाई प्राथमिकतामा राखिने शाखा प्रवन्धक ज्ञवालीले बताए । नगरपालिकाबाट सिफारिस भएको बढीमा १० दिन भित्र नव उद्यमीहरुलाई ऋण प्रवाह गरिने शाखा प्रवन्धक ज्ञवालीले बताए । नव उद्यमी युवाहरुलाई बैंकले वित्तीय साक्षरता प्रदान गर्ने, ग्रामिण आर्थिक विकास संघ रेडाले उद्यमको लागी सहजीकरण गर्ने, प्राविधिक तथा बजारको बारेमा तालिम तथा जानकारी दिनेछ । यही कार्तिक महिनादेखी तानसेन नगरपालिका भित्रका नव उद्यमीहरुलाई धितो वा बिना धितो ऋण आदन–प्रदानको लागी नगरपालिकाले बैंकलाई सिफारिस गर्ने छ ।