Shittalpati
पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड

हाम्रा संवाददाता
पाल्पा,  पाल्पा र गुल्मीका जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ । दसैंपछि नागरिकता र राहदानी बनाउने लगायत अन्य प्रशासनिक कामकाजले प्रशासनमा धाउनेहरुको भिड बढेको हो ।

दशैंपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको बढी चाप देखिएको छ । नागरिकता,राहदानी लिनेहरुले जिल्ला प्रशासन कार्यालय भरिभराउ देखिएका छन् । दसैंको विदा सकिएपछि प्रशासनमा भिड बढ्दै गएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । दैनिक एक सयको हारहारीमा सेवाग्राही आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए । हरेक वर्ष दसैं–तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा यसैगरी नागरिकता, राहदानी बनाउने, नाता प्रमाणित गर्ने जस्ता कामका लागि सेवाग्राहीको चाप बढ्ने गरेको पाइन्छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा पनि नागरिकता, राहदानी सहित विभिन्न सेवा लिनेहरुको चाप बढेको छ । यहाँ अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिकता, २० भन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । तर दशैंको विदा सकिएर कार्यालय खुलेपछि एकै दिन १ सय ३२ जनाले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्याल्य गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको छ । जिल्ला बाहिरका सहर तथा विदेशमा रहेका अधिकांश जिल्लावासीहरु दसैं–तिहारका बेला घर फर्किने गरेकाले यही मौकामा प्रशासनिक कामकाज सकेर फर्किने गरेको कर्मचारीहरु बताउँछन् । गुल्मी जिल्लामा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दुईजना प्रशासकीय अधिकृत हुने व्यवस्था भएपनि एकजना मात्रै हुँदा समस्या भएको जनाइएको छ । यसभन्दा पहिले सेवाग्राहीको भिड हुँदा कारागार कार्यालयबाट कर्मचारी ल्याई काम गरेपनि अहिले कारागारमा पनि कर्मचारी छैनन् । जसले गर्दा सेवाप्रवाहमा समस्या परेको छ । पाल्पामा इलाका प्रशासन कार्यालय रामपुरले रामपुर नगरपालिका र निस्दीका साथै पूर्वखोलावासीको नागरिकता बनाउने गर्छ । त्यसबाहेक अन्य क्षेत्रका नागरिकहरु भने जिल्ल प्रशासन कार्यालयमै आउने गर्दछन् । इलाका प्रशासन कार्यालय रामपुरमा पनि सेवाग्राहीको चाप बढेको छ । यहाँ यस आर्थिक वर्षको तीन महिनामा मात्र एक हजार ३ सय ४ जनाले नयाँ नेपाली नागरिकता लिएका छन् । साउनमा ४ सय ४, भदौमा ६ सय १८ र असोजमा २ सय ८२ जनाले नयाँ नागरिकता बनाएका छन् । त्यस्तै ९ सय ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । हिजोआज कार्यालयमा सेवाग्राहीको भीड अझ बढेको कार्यालय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिए ।

उनका अनुसार विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन् । सदरमुकाम तानसेन जानु नपर्ने हुँदा पनि उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउने गरेको प्रमुख अर्यालले बताए । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, नाबालक परिचयपत्र, अन्य सिफारिस लिने गरेका छन् । प्रहरी प्रशासनबाट नागरिकलाई सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइटर प्रयोग गर्ने भनिए पनि सेवाग्राहीहरुले भने व्यवास्ता गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update