Shittalpati
देशभर चिसो बढ्यो

काठमाडौं, काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा शनिबार १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताईन् । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको थियो । –रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update