Shittalpati
माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ । यस अघि भत्ता लिनको लागि घन्टौं लगाएर बैंक पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाले वडाबाटै सुरक्षा भत्ता वितरण थालेको हो ।

जेष्ठ नागरिकहरूलाई बैंक तथा वित्तीय संस्थासम्म धाउन कठिन भएको भन्दै उनीहरूलाई वडाबाटै भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ । पालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता बापत् सरकारबाट आउने रकम पालिकामै ल्याएको छ । उक्त भत्ता बैंकमार्फत वडा कार्यालयमा वितरण गरिएको हो । ७ का वडा अध्यक्ष जगबहादुर थापाले विकट क्षेत्रका बुढाबुढीलाई भत्ता लिन जाँदा लामो समयसम्म हिंड्नुपर्ने र गाडी समयमै नपाउने समस्याले गर्दा वडा कार्यालयबाटै वितरण गरिएको बताए । बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि जेष्ठ नागरिकहरु समेत उत्साहित भएका छन् । उनीहरुको मुहारमा खुशी झल्किएको छ । गत बर्ष सामाजिक सुरक्षा भत्ता बैंकबाट लिर्दै आईरहेका थियौँ, अहिले भने वडा कार्यालयबाटै सुविधा लिन पाउदा अत्यन्त खुसी लागेको स्थानीय तुलबहादुर रानाले बताए ।

उनले जेष्ठ नागरिक सामाजिक सुरक्षा बापतको भत्ता रकम बुझ्दै गाउँपालिका र जनप्रतिनिधिलाई धन्यवाद समेत दिए । उनी भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिवद्धताअनुसार नै काम शुरु गरेकामा निकै खुशी लागेको छ ।’ यसरी नै निर्वाचनका बेला गरेका प्रतिवद्धता जनप्रतिनिधिले विस्तारै काम गर्दै गए देशले सही निकास पाउने उनको धारणा छ । अर्को लाभग्राही डम्बरबहादुर सुनारीले झडेवा बैंकमा जाँदा टोक्कन लिएर लाईन बस्नुपर्ने बाध्यता थियो भने वडा कार्यालयबाट सेवा प्रदान गर्दा धेरै सहज अनुभव महसुस भएको बताए । नेपाल सरकारले दिँदै आईरहेको बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, एकल महिला लगायतलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता गाउँपालिकाले समयमै उपलब्ध गराएकोमा स्थानीयहरु खुसी भएका छन् ।
गाउँपालिकाबाट १ सय १६ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा लाभ लिएका छन्  । मेगा बैंकका माथागढी शाखा प्रबन्ध बाबुराम पराजुली, माथागढी गाउँपालिकाका एमएस अपरेटर विद्या भट्टराई, एमएससहायक अपरेटर केवल रेग्मी र नगर प्रहरीको सहजीकरणमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update