Shittalpati
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस

पाल्पा, नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । बुधबार तरुण दलले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

दिवसको लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री रानाले देश परिवर्तमान युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका रानाले भने‘तरुण दलको इतिहासलाई हेर्दा मुलुकको ऐतिहासिक परिवर्तनमा युवाहरुले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।’ तरुण दलकै जगमा टेकेर आफु अहिले यो अवस्थामा आइपुगेको स्मरण गर्दैै मन्त्री रानाले आफु आत्मनिर्भर र सक्षम भई संगठन निर्माण र विस्तारमा लाग्न युवाहरुलाई आग्रह गरे । उनले युवाहरुलाई व्यवसायिक र स्वदेशमै स्वरोजगार बनाउने दिशामा प्रदेश सरकारमा केही योजनाहरु समेत अघि सारेको बताए । मन्त्री रानाले आफ्नो मन्त्रालय सानो भए ता पनि नयाँ सोंच र योजनाका साथ अगाडि बढेको बताउदै युवाहरुलाई स्वदेशमै व्यवसायसँग सँगै राजनीतिक गर्ने वातावरण सिर्जना गरिने बताए । उनले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको समेत बताए । मन्त्री रानाले भने ‘उज्यालो प्रदेश बनाउने अभियान पाल्पाबाटै सुरुवात गरिने छ ।’ कृषि विकासको आधार सिँचाइ भएकाले सिँचाइमा सुधार गर्दै जानेमा उनले जोड दिए । विगतका बर्षहरूमा कृषकहरू मन्त्रालयको कार्पेट टेक्नु पर्ने परिस्थिति रहेको बताउँदै मन्त्री रानाले अब त्यस्तो परिस्थिती नरहने बताए । उनले भने ‘अब कृषक मन्त्रालयको कार्पेट टेक्न आउने होइन, कर्मचारी कृषकको खेतबारीमा माटो टेक्न पुग्नुपर्छ भनेर कर्मचारीलाई निर्देशन समेत दिएको छु ।’ तरुण दलले मन्त्री रानालार्य सम्मान समेत गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य राजनप्रसाद पन्तले सही मूल्य र मान्यतामा अडिग रहेर राजनीतिक गर्न युवा नेतृत्वलाई आग्रह गरे । उनले पछिल्लो समय नेपालको राजनीति गलत दिशातर्फ उन्मुख भएकाले युवाहरु त्यसतर्फ नलाग्न उनले सुझाव दिए । राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण रहेकाले सही मूल्य र मान्यतामा अगाडि बढ्न उनले युवाहरुलाई आग्रह गरे । नेपाली काँग्रेसका जिल्ला सचिवहरु झेपेन्द्र गहिरे, अजयमान कर्मचार्य , वरिष्ठ नेता राजेन्द्र गोपाल सिंह, नेपाल महिला संघकी जिल्ला सभापति गंगा पौड्याल लगायतले युवा कमजोर भए पार्टी कमजोर हुने भन्दै संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिन तरुण दल पाल्पालाई आग्रह गरे । सोही अवसरमा तरुण दलले दिर्घरोगीहरुका लागि आर्थिक सहयोग गरेको छ । आफ्नो ६८ औं स्थापना दिवसको अवसरमा ६ जना दिर्घरागीहरुलाई दश हजार एक सयका दरले आर्थिक सहयोग गरेको हो । तरुणदलले निस्दीका मृगौला पीडित बादल राना, तानसेनका मुटु रोगी लक्ष्मी नेपाली, सम्राट राना, रामपुरका ब्लड क्यान्सर पीडित अंकित राना, तानसेनका आशिष महर्जन र रिब्दीकोटका राजन सुनारलाई आर्थिक सहयोग गरेको छ । उसले आर्थिक सहयोग गर्ने ३५ जना सहयोगी दाताहरुलाई सम्मान समेत गरेको छ । तरुण दलका सभापति मेजर सिं केशीको अध्यक्षता, उप–सभापति सुनिल बस्यालको धन्यवाद , कुमार खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update