Shittalpati
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

पाल्पा, जिल्लाको रामपुर नगरपालिका –५ का ३४ वर्षीय युवा लक्ष्मण मल्ल माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । गत शनिबार रामपुर– १ फर्केचौरमा भएको सांस्कृतिक कार्यक्रममा मल्ल माथि अभद्र व्यवहार गर्नेे तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुपन्देही, देवदह नगरपालिका ५ बस्ने कर्णबहादुर पुनको २४ वर्षीय छोरा विक्रम पुन, सोही ठाउँ बस्ने जुद्द बहादुर गुरुङको २४ वर्षीय छोरा मन बहादुर गुरुङ र पाल्पाको रामपुर नगरपालिका ५ बस्ने कमल राज बंशीको २० वर्षीय छोरा गौरव बंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार शंकर निमाविको प्रंगणमा स्थानीय ग्रामीण सुधार युवा क्लवले आयोजना गरेको भलिबल सँगै भएको सांस्कृतिक कार्यक्रममा उनीहरुले होहल्ला गरी मल्ललाई वियरको बोतलले प्रहार गरी घाईते बनाएका थिए । घाइते बनाई फरार रहेका ७ जना मध्ये तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो भने अन्य चार जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार रहेकाहरु रुपन्देही देवदह नगरपालिका ५ बस्ने २१ वर्षीय सरोज राना मगर, सोही नगरपालिका ७ बस्ने २१ वर्षीय जनक मल्ल, रामपुर नगरपालिका ५ बस्ने राम बहादुर रानाको छोरा २१ वर्षीय आवेश राना र सोही ठाउँ बस्ने महेन्द्र वंशीका छोरा २० वर्षीय अप्सन बंशी रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update