Shittalpati
सूचना नलुकाऊ: प्रजिअ पन्त

पाल्पा, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको सूचना अधिकारी र पत्रकारहरुसँगको छलफलमा प्रजिअ पन्तले सूचना अधिकारीहरुलाई नागरिकले पाउनु पर्ने सूचना नलुकाउन निर्देशन दिएका हुन् ।

जनताको सूचनाको अधिकारलाई कसैले पनि कमजोर पार्न नहुने भन्दै उनले केही गोप्य सूचना बाहेक अन्य सार्वजनिक सूचनाहरु प्रवाह गर्न सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई आग्रह गरे । ‘जति गोप्य गर्न खोज्नु हुन्छ, लुकाउन खोज्नु हुन्छ त्यति नै जटिलता हुन जान्छ,’ प्रजिअ पन्तले भने ‘त्यसैले पारदर्शीता अपनाउँदै अरुले जान्न पाउने अधिकारको संरक्षण गर्नुहोस् ।’ सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने उनको भनाई थियो । कुनै पनि राजनीतिक दल, सरकार वा निकायमा सूचना लुकाउनुपर्छ भन्ने नीति नियम र कानुन नभएकाले पारदर्शी बनाउने काम सम्वन्धित अधिकारीको हातमा हुने प्रजिअ पन्तले बताए । उनले कुनै पनि सरकारी कार्यालयले यो वा त्यो बाहनामा सूचना नलुकाउन आग्रह गरे । गत बुधबार भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरुले सूचना अधिकारीहरुबाट सहज रुपमा सूचना पाउन नसकेको गुनासो गरेपछि प्रजिअ पन्तले तत्कालै सूचना अधिकारीहरुलाई बोलाएर छलफल गराएका हुन् ।

छलफल कार्यक्रममा पत्रकारहरुले सरकारी कार्यालयका वेबसाइटहरु अपडेट नहुने र सूचना माग गर्दा समेत सूचना अधिकारीहरुले कानाकानी गर्ने गरेको बताएका थिए । पत्रकार महासंघका अध्यक्ष रेखिराम रानाले नागरिकप्रति जिम्मेवार बन्न सूचना अधिकारीहरुलाई आग्रह गरे । सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै उनले सूचना सहज रुपमा उपलब्ध गराउन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, महासंघका जिल्ला सचिव यज्ञमूर्ति तिमिल्सीना, कान्तिपुर राष्ट्रिय दैनिकका उप–सम्पादक माधव अर्याल, नवजनचेतना राष्ट्रिय दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले सूचना सहज रुपमा उपलब्ध गराउन र स्थानीय मिडियाहरुको सवलीकरण र प्रवद्र्धन गर्न स्थानीय सूचना/विज्ञापन स्थानीय मिडियाहरुलाई दिनुपर्नेमा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको सञ्चालनमा छलफल कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update