Shittalpati
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग

रामपुर(पाल्पा), इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई समक्ष नागरिकले यहाँको शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका हुन् ।

शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको अध्ययनको लागि छलफलमा आएका प्रहरी उपरीक्षक भट्टराईसँग रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा शान्ति सुरक्षा मजबुत बनाउन स्तरोन्नतिको अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले डिएसपीको दरबन्दी र मुद्दा दर्तालगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि माग गरेका छन् । प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दा रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताए । आफू पाल्पा आएदेखि मुद्दा र क्षेत्रको हिसाबले रामपुरमा संरचना थपको लागि पहल भइरहेको बताउदै सुरक्षाको हिसाबले पनि रामपुरमा भवन र जनशक्ति आवश्यक रहेको बताएका छन् । रामपुरमा जनघत्व बढ्दै गरेको अवस्थामा विभिन्न आपराधिक क्रियाकलाप, हिंसाका घटना बढ्दै गरेकाले पनि डिएसपीसहितको दरबन्दी तत्काल आवश्यक परेको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताइन् । आवश्यक संरचना तयार पार्न स्थानीय सरकार तयार रहेको उपप्रमुख आचार्यको भनाइ छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले पुरानो जीर्ण मन्दिरमा बसेर सेवा दिनुपरेको बताए । नयाँ भवन निर्माण भएमा नागरिकलाई सहजरुपमा सेवा दिन पाइने छ । प्रहरीमा आएका विभिन्न मुद्दा तथा घटनाको अध्ययन अनुसन्धान गर्न पुरानो र जीर्ण भवनमा बसेर सेवा दिन समस्या छ ।

इलाका प्रहरी कार्यालय रामपुरको भवन निर्माणका लागि अध्ययन थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्य भएको हो । एशियाली विकास बैंक (एडिबी) को समन्वयमा बन्ने भवनको स्थलगत अनुगमन र सरोकारवालासँग छलफल भएको छ । महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरिकका लागि लक्षित गरी बन्ने भवनको सन्दर्भमा स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरिएको छ । एडिबीले नेपालका विभिन्न दश स्थानका प्रहरी कार्यालयमा बनाउने गरी अगाडि बढेको भवनका लागि अध्ययनमा आएको इञ्जिनियरसहितको टोलीले भवनका लागि कम्तिमा चाहिने क्षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको हो । दश स्थानमा अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् तीन स्थानमा भवन बन्ने छन् । कम्तीमा भवन निर्माणको आधार तथा जग्गा र चौकिल्लाबारे अध्ययन गरेको टोलीले पहिलो चरणको यो अध्ययनको रिपोर्ट एडिबीमा बुझाउने बताएको छ । इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा छ । प्रहरी कार्यालयको नाममा रहेको जग्गा आवश्यक पूर्वाधार थप गर्न उपयुक्त रहेको टोलीले जनाएको छ । –रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update