Shittalpati
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

रामबहादुर थापा

बागलुङ,  हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार । अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दसैँमा मिठोमसिनो खान नपाउनु ! यो प्रश्नले हर कोहीलाई बिझाएको हुनुपर्छ । हिमालपारिबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ । पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन् । कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो । व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दसैँलाई च्याङ्ग्रा ल्याएको बताए । भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उनले सुनाए । सदरमुकाममा मासु पसलसमेत चलाउँदै आएका केसीले एककिलो च्याङ्ग्रोको मासुलाई एकसय ८ सयमा बेच्दै आएका छन् ।

उनका अनुसार कतिपय पसलेले दुई हजारसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोइनसक्नुभएका बेला यहाँका कुखुरापालक किसानले दसैँमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन् । भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ ।

गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३ सय लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताए । साकिने, घाँटीखुइले, उल्टेलगायत लोकल जातका कुखुरा फार्ममा छन् । ‘एक किलाको ७ सय ५० मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ’, उनले भने, ‘दसैँमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ ।’ स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ । लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ । बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन् । पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो ।

‘दसैँमा च्याङ्ग्राको मासु महँगो भएर के भो र ? लोकल कुखुरा, खसीबोका छँदै छन् नी !’, उनले भने,‘ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन् ।’ स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उनको भनाइ छ । उनले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५ सय लोकल कुखुरा छन् । फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ ।

कडकनाथ, बेन्टम, सिल्की र पोलिस जातको आयातित कुखुरा पनि पालिएको छ । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की छन् । उपभोक्ताले इछ्याएको कुखुरा फार्मबाट किनेर लैजान सक्छन् । लोकल साकिने जातको भाले प्रतिकिलो ८ सयमा बिक्री भइरहेको उहाँले बताउनुभयो । आयातित कुखुराको भाउ भने चर्को छ ।

लोकल जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच/छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । खुला ठाउँमा चर्ने र गाउँकै दानापानी खाने भएकाले लोकल कुखुरा पौष्टिक र स्वादिष्ट हुन्छन् । ‘ब्रोइलर कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि दिनु पर्दैन’, उनले भने, ‘बारी र पाखामा छोडेर हुर्काउने गरिन्छ ।’ रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लागेका छन् । चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्किएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उनले लोकल कुखुरामा आफ्नो भविष्य देखेका छन् । –रासस

 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update