Shittalpati
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

गुल्मी, जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले आयोजना गरेको प्रहरी दिवसको एक औपचारिक समारोहमा जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका विभिन्न प्रहरीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । उसले अमर प्रहरी परिवार, ८५ वर्ष माथिका पूर्व प्रहरी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने, प्रहरीको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, व्याडमिण्टन प्रतियोगितामा विजयी प्रहरी कर्मचारीलाई समेत सम्मान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे,जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले सम्मानित व्यक्तित्वहरुलाई नगद, प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेका थिए । सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी र मजबुद बनाउन सम्मानले टेवा पुग्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

यस्तै गुल्मीमा पनि उत्कृष्ट कार्य सम्पादन गर्ने सात प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार तिलक बेल्बासे, प्रहरी जवानहरु कृष्णबहादुर रायमाझी, दुर्गा बुढा, दिपक बोटे, सुभम घर्ति मगर, सरोज श्रेष्ठ रहेका छन् । दिवसको अवसरमा बिहिवार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले नगदले सम्मान गरेका थिए । दिवसको अवसरमा आयोजित व्याडमिण्टन खेलमा प्रथम हुने प्रहरी नायव निरीक्षक भेषबहादुर घर्तिमगर, प्रहरी सहायक निरीक्षक मिनबहादुर सेन, द्धितिय हुने प्रहरी निरीक्षक सुवराज बम र प्रहरी जवान लुकप्रसाद पुन, तृतिय हुने प्रहरी सहायक निरीक्षक विजय क्षेत्री र विष्णुकुमार थारु, घैटो फोर महिला तर्फ प्रथम हुने दुर्गा बुढा रहेका छन् । उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी पौडेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भट्टराईले सम्मान गरेका थिए । दिवसको अवसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र विपद् व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए । प्रहरीले नागरिकसँग सहकार्य गरी अगाडि बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताए । कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले नागरिकसँग सहकार्य गरेर लागु औषध, घरेलु हिंसा लगायतका आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update